काठमाडौं । अफ्रिकी मुलुक कंगोमा तीव्र रूपमा फैलिएको एमपक्स (मंकीपक्स) को नयाँ भेरिएन्ट ‘क्लेड १ बी’ को संक्रमण अफ्रिकाबाहेकका महादेशमा पनि देखिन थालेपछि नेपालमा पनि जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले गत वर्ष नेपालमा एक ६० वर्षीय विदेशी महिलामा एमपक्स पुष्टि भएको भन्दै नेपाल यो रोगको जोखिममा नरहेको भन्न नसकिने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । २०२२ मा विश्वका ११२ भन्दा बढी देशमा फैलिएको एमपक्सको भेरिएन्टभन्दा अहिले फैलिएको भेरिएन्ट निकै संक्रामक र घातक मानिएको छ ।
विज्ञहरूले पनि विश्वको कुनै एक भागमा यो रोग फैलिएपछि हजारौं किलोमिटर टाढा रहेका मुलुकसमेत संक्रमण विस्तार हुन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । पछिल्लो समय अफ्रिकी मुलुक कंगो, युगान्डा, केन्यालगायत देशमा फैलिएको एमपक्स स्विडेन र पाकिस्तानमा समेत देखा परिसकेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. चुमनलाल दासले एमपक्स भाइरस फैलिन नदिन निगरानी, नमुना परीक्षण र प्रचारप्रसारमा ध्यान दिन जरुरी रहेको बताउनुभयो । ‘एमपक्स प्रभावित मुलुकबाट आएकाहरूलाई नाकाहरूमा विषेश निगरानी गर्न जुरुरी छ,’ उहाँले भन्नुभयो, ‘शंकास्पद व्यक्तिहरूलाई कम्तीमा तीन सातासम्म स्वास्थ्य निगरानीमा राख्दा उचित हुन्छ ।’ उहाँले शंकास्पद लागेमा तत्काल नमुना परीक्षण गर्नुपर्ने बताउनुभयो । ‘आमव्यक्तिमा संक्रमणबारे सुसूचित गर्न जरुरी छ,’ उहाँले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयले यो रोगबारे जानकारीका लागि कल सेन्टर १११५ सञ्चालनमा ल्याएको छ । साथै हवाई तथा जमिनका नाकाहरूमा रहेका हेल्थ डेक्सहरू तथा सरुवा रोगहरूको निगरानी गर्ने सम्बन्धित निकायलाई सर्तकता गराइसकेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सबै प्रदेशमा यस रोगको निदान तथा व्यवस्थापन गर्न अस्पताल र चिकित्सक तोकिसकेको जानकारी दिनुभयो । ‘एमपक्स भाइरसको नयाँ भेरिएन्ट पाकिस्तानमा पनि देखिएकाले सबै जना सचेत रहन अनुरोध गर्दछु,’ उहाँले भन्नुभयो, ‘शंका लागेमा तत्काल नमुना परीक्षण गराउन अनुरोध गर्दछु ।’
मंकीपक्सबारे विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वव्यापी आपतकाल घोषणा गरिसकेको छ । डब्लूएचओका अनुसार यो भाइरस संक्रमित व्यक्तिको सम्पर्कबाट अर्को व्यक्तिमा सर्छ । यो बिफर रोग लाग्ने घातक प्रजाति ‘क्लेड–१ बी’ ले गर्दा सर्ने गर्दछ । मंकीपक्सका कारण सन् २०२४ जनवरीदेखि हालसम्म कंगोमा ५ सय ४८ जनाको मृत्यु भइसकेको छ । ईडीसीडीका निर्देशक डा. यदुचन्द्र घिमिरेका अनुसार एमपक्स बिरामीको प्रारम्भिक लक्षण मौसमी रुघाखोकी (फ्लु) जस्तै हुन्छ । ज्वरो आउने, टाउ, मांसपेसी र कम्मर दुख्ने, जिउ काम्ने र थकाइ लाग्ने हुन्छ । सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने, डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, शरीरका ग्रन्थी बढ्ने मंकीपक्सका लक्षण हुन् । ईडीसीडी निर्देशक डा. घिमिरेका अनुसार संक्रमण जटिल बनेको खण्डमा मस्तिष्क ज्वरो, आँखाको दृष्टि गुम्ने, निमोनियाजस्ता थप जटिलता देखिन सक्छ ।
ईडीसीडीका अनुसार श्वासप्रश्वासका साथै थुक, र्याल, संक्रमित व्यक्तिको छालाको घाउ वा शरीरबाट निस्किने तरल पदार्थबाट यो संक्रमण सर्ने जोखिम रहन्छ । त्यस्तै संक्रमित पशु (बाँदर, मुसा, लोखर्केलगायतका जनावर) र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्दछ । बालबालिका, गर्भवती र रोग प्रतिरोधक क्षमता कम भएकामा यसको गम्भीर संक्रमण देखिने गरेको छ । संक्रमण भएदेखि सामान्यतः ६ देखि १३ दिन शरीरमा लक्षण देखिन सक्छ । ईडीसीडी निर्देशक डा. घिमिरेका अनुसार कहिलेकाहीँ यो समय ५ दिनदेखि २१ दिनसम्म पनि देखिने गर्छ । ‘आँखामा संक्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ,’ उहाँले भन्नुभयो ।
यसबाट बच्न एमपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने, संक्रमित व्यक्तिलाई घर वा अस्पतालमा आइसोलेसनमा राख्ने, संक्रमित व्यक्तिको हेरचाह गर्नेले पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार घाउसँग प्रत्यक्ष सम्पर्क हुन सक्छ भन्ने जोखिम छ भने पन्जा लगाउने, नियमित रूपमा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग, संक्रमित व्यक्तिका लुगा, तौलिया, ओछ्यान र भाँडाहरू तातो पानी, साबुन वा डिटर्जेन्टले धुने गर्नुपर्छ । त्यस्तै मंकीपक्सको संक्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्नुपर्छ ।
एमपक्स भाइरस सन् १९५८ मा पहिलोपटक डेनमार्कमा खोरमा राखिएको बाँदरमा पाइएको थियो । त्यही भएर यो रोगलाई मंकीपक्स नाम दिइएको हो । त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजातिका बाँदरमा संक्रमण पाइएको थियो । मान्छेमा भने पहिलो पटक सन् १९७० मा अफ्रिकी मुलुक कंगोमा ९ महिने बालकमा संक्रमण पुष्टि भएको थियो ।