२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले नेपालको थप २५१ मेगावाट बिजुली किनिदिने

India will buy additional 251 MW electricity from Nepal

काठमाडौं । भारतले नेपालका एक दर्जन जलविद्युत् आयोजनाबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । अन्तरदेशीय व्यापार उद्देश्यले भारतको तोकिएको प्राधिकरणले नेपालका १२ जलविद्युत् आयोजनाबाट उक्त परिमाणमा विद्युत् निर्यातका लागि स्वीकृति दिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

नेपालले पहिलो पटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौता मार्फत विद्युत् निर्यात गर्ने भएको हो । यसले कुल स्वीकृत परिमाण ६ सय ९० मेगावाट (१६ वटा आयोजना) बाट ९ सय ४१ मेगावाट (२८ आयोजना) पुग्ने छ । यो २ सय ५१ मेगावाट स्वीकृत हुनुअघि नै गत आर्थिक वर्ष १६ अर्ब ९३ करोड रुपैयाँ बराबर विद्युत् बिक्री गरी नेपाल खुद विद्युत् निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणाभन्दा धेरै बढेको छ । इन्डियन इनर्जी एक्सचेन्जको ‘डे अहेड मार्केट’ मा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो । त्यसयता भारतले ‘रियल टाइम मार्केट’ मा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ ।

भारतले खरिदकर्ताका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साका रूपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्तालाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्दछ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ । यो सम्झौताको पहिलो वर्ष हो र झन्डै १ हजार मेगावाट निर्यात भइसकेको छ । यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता टुङ्गो लागी १३ साउनमा हस्ताक्षर गर्ने योजना भए पनि बंगलादेशको पछिल्लो राजनीतिक घटना क्रमका कारण स्थगित भएको छ ।

 

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस