२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्रीलाई वर्षमानको चेतवानी: सहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्

रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिन’ भन्दै हिँडेको टिप्पणी गर्दै चेतवानी दिनुभएको छ । पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औँ सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिन भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताउनुभयो ।

‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न, भ्रष्टचारीको मुख हेर्दिन भन्दै आउनुभएको छ’, पुनले भन्नुभयो, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन् । मान्छेहरू भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिन भन्नुभएको छैन ।’

आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस–एमालेबीच सहमति गरिएको पुनको आरोप छ । उहाँले भुटानी शरणार्थी र गिरीबन्धु टी–स्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्याशित रूपमा काँग्रेस–एमालेबीच गठबन्धन भएको उल्लेख गर्नुभयो । माओवादी सशस्त्र जनयुद्ध, ०६२÷०६३ को संयुक्त आन्दोलन, शान्ति प्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा काँग्रेस–एमालेलाई रूपान्तरण गरियो होला भन्ने आफूहरूको अनुमान पछिल्ला घटनाक्रमहरूले गलत साबित भएको पुनले बताउनुभयो ।

‘भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी काँग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौँ । हामीलाई लागेको थियो उनीहरू यहाँसम्म आउँदा केही सुध्रिए होला । तर उनीहरू भ्रष्टाचार, बेथिति र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन् । हामी उनीहरूलाई पुरानै ठाउँमा फर्कन दिँदैनौँ । खबरदारी गर्छौँ’, पुनले भन्नुभयो ।

पुनले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्न आफूहरूले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिनुभयो । फरक प्रसङ्गमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहनुभएका पुनले आफूहरू सरकारबाहिर आउनुपरेका कारण नआत्तिएको बताउनुभयो । तर, काँग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन मात्र टिक्ने बताउन थालेको दाबी उहाँले गर्नुभयो ।

‘हामीलाई सरकारमा फर्कन हतार छैन’, पुनले भन्नुभयो, ‘काँग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन जाला भन्न थाल्नुभएको छ । सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्त्व र बिचौलियाहरूको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी उहाँको थियो । पुनले बंगलादेशको राजनीतिक हावा काठमाडौंसहित देशका ठूला सहरमा चल्न थालेको भन्दै आफ्नो पार्टीको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिन सरकारलाई आग्रह गर्नुभयो ।

फरक प्रसङ्गमा पुनले शान्ति प्रक्रियापछि रोल्पाले विकासमा फड्को मारेको बताउनुभयो । जिल्लाका सबै ७१ वटै वडा सडक सञ्जालमा जोडिएको, विद्युतीकरण भएको, दर्जनौँ आधुनिक विद्यालय भवनहरू निर्माण भएको तथा सिँचाइ र तटबन्धजस्ता धेरै आयोजनाका काम भएको उल्लेख गर्नुभयो । उहाँले कृषि उत्पादनमार्फत जिल्लामै रोजगारीको अवसर सृजना गर्ने योजनासहित आफूहरूले काम गरिरहेको चर्चा गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८१ भाद्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस