२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भूकम्प पीडितको अस्थायी टहरामा पहिरो: एकै परिवारका ३ जनाको मृत्यु, घर थियो भने बच्थ्यो ज्यान

Landslide in the temporary tower of the earthquake victims, 3 people from the same family died

३ भदौ, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उहाँकी श्रीमती ३५ वर्षीया मनिसा विक र उहाँहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता दिनेश तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्थायी टहरोमा पहिरो खसेको जानकारी प्रहरीले आज बिहान ७ः५० बजे पाएको थियो । त्यसपछि इन्सपेक्टर माधव प्रसाद चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको थियो । प्रहरी टोली बिहान नौ बजे घटनास्थल पुगेर शव बाहिर निकालेको थियो । नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार उहाँहरु भूकम्प पीडित हुनुहुन्थ्यो । स्थायी आवास नबनेकाले उहाँहरु अस्थायी टहरोमा बस्दै आउनुभएको थियो । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिक पर्दछ ।

बझाङमा पनि पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ । राति आएको पहिरोमा परेर बुंगल नगरपालिका–१० को टुमेडाका एकै परिवारका ४ जनाको मृत्यु भएको हो । पहिरोमा परेर मृत्यु हुनुभएका चारैजनाको शव निकालिएको सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रवीन्द्र केसीले जानकारी दिनुभयो । उहाँकाअनुसार पहिरोमा पुरिएर मृत भेटिनेमा ५५ वर्षीय काली धामी, २५ वर्षीय गोल्की धामी, ६ वर्षीया आकृति धामी र ३ वर्षीया लक्ष्मी धामी हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस