२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गट्ठाघर घटनामा ट्रक, स्कुटर चालक वा ट्राफिक कसको गल्ती ?

काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार दिउँसो १ः४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको छ ।

ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ । घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गट्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो । प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखेका थिए । तर, प्रहरीले भने त्यस क्षेत्रमा बिहीबार ट्राफिक प्रहरीले गाडी रोकेर चेकजाँच नगरेको दाबी गरेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी श्रेष्ठले ट्राफिक प्रहरीले दुर्घटना भएको स्कुटर र ट्रक कुनैलाई पनि नरोकेको बताउनुभयो । उहाँका अनुसार गट्ठाघरमा ‘स्पिड गन’ मार्फत सवारीको गति अनुगमन भन्नुभयो, गरिएको थियो । ‘स्पिड गनमार्फत गति हेरिएको थियो । तर त्यहाँ स्कुटर र ट्रकलाई रोकेर ट्राफिक जाँच गरेको होइन । गनमार्फत स्पिड गति हेरिरहेका बेला दुर्घटना भएको देखेपछि ट्राफिक दौडिएर घटनास्थल गएको देखिन्छ’ एसएसपी श्रेष्ठले भन्नुभयो ।

घटनापछि भक्तपुरको ट्राफिक प्रहरीसँग जानकारी लिँदा स्कुटर नरोकेको जवाफ आएको श्रेष्ठको भनाइ छ । प्रदर्शनकारीले ट्राफिक चेकजाँचका क्रममा दुर्घटना भएको भनेकाले त्यस विषयमा अनुसन्धान हुने प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीले ट्राफिक प्रहरीले ट्रक छेकेपछि स्कुटरमा ट्रक ठोक्किएको र स्कुटर ट्रकमा पस्यो भन्ने थाहा पाउँदा पाउँदै सय मिटरसम्म घिसारेर लगेको दाबी गरेका छन् ।

ट्राफिक प्रहरीले सडकमा गाडीको गति जाँच गरिरहेको थाहा पाएपछि ट्रकले एक्कासी गति घटाउँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । प्रत्यक्षदर्शीलेपनि ट्राफिक ट्रक छेक्न सडकमा उत्रिएपछि ट्रकले गति घटाएको त्यही स्कुटर ठोक्किन पुगेको भनेका छन् ।

भक्तपुरका एसपी विष्टले पनि दुर्घटनामा परेका स्कुटर तथा ट्रक दुबै बिहीबार चेकजाँचमा नपरेको दाबी गर्नुभयो । ट्राफिकले गति नापेको थाहा पाएर ट्रकले एक्कासी गति घटाउँदा स्कुटर अनियन्त्रित भएर ट्रकमुनि छिरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यसबारे सीसीटीभी फुटेज हेरेपछि मात्रै आधिकारिक पुष्टि हुनेछ एसपी विष्टले बताउनुभयो । ‘हामीले ड्युटीमा खटिएका ट्राफिकदेखि प्रत्यक्षदर्शीलाई समेत सोधपुछ गरेका छौं । तर ट्राफिकले रोकेर जाँच गरेको बेला दुर्घटना भएको देखिँदैन’, विष्टले भन्नुभयो ।

घटना जसरी भएको भएपनि ज्यादै दुखद छ । यो घटनापछि नेपालको ट्राफिक प्रहरीले नियम उलंघन गर्नेलाई त्यही छेकेर कारबाहीको चिट थमाउने हैन । सीसीक्यामेरा, स्पीड गनमा नियम उलंघन गरेको देखेपछि ट्राफिक प्रहरीले फलो गरेर रोक्न सहज हुने ठाउँमा घेरा हालेर कारबाही गर्नुपर्छ । विकसित देशमा यही हुन्छ । त्यही कारबाही हुन्छ भन्ने लागेर भाग्दा दुर्घटना अत्याधिक भएको छ ।

 

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस