२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गट्ठाघर दुर्घटना : ट्राफिकले स्कुटर र ट्रक दुबैलाई रोकेको थिएन

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा बिहीबार दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ । दुर्घटनास्थलको सीसीटीभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो । प्रत्यक्षदर्शीहरुले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै बिहीबार प्रदर्शन गरेका थिए । यसबारे बिहीबार नै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी जीवनकुमार श्रेष्ठले दुर्घटनामा परेको स्कुटरलाई ट्राफिकले नरोकेको बताउनुभएको थियो । सीसीटीभी फुटेजमा समेत ट्राफिकले स्कुटरलाई रोकेको देखिँदैन ।

दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । दुर्घटनास्थल नजिकै ३ जना ट्राफिक ड्युटीमा खटिएको सीसीटीभी फुटेजमा देखिन्छ । सोही क्रममा काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको ट्रकले आफूभन्दा अघि रहेका स्कुटरलाई किच्दै अघि बढेको देखिन्छ । स्कुटर देब्रेतर्फ उछिटिन्छ भने स्कुटरमा सवार पुरुषलाई घिर्सादै ट्रक केही मिटर परसम्म पुगेको देखिन्छ ।

त्यसपछि त्यहाँ उभिएका ३ जना मध्ये एक जना ट्राफिक प्रहरी दौडिँदै ट्रकतर्फ अघि बढेको देखिन्छ । एक ट्राफिक दौडिएपछि अरु दुई ट्राफिक पनि पछि पछि गएका हुन्छन् । लगत्तै ट्रक रोकिन्छ र एक व्यक्ति ट्रकबाट ओर्लिएको देखिन्छ । यो दुर्घटनामा परेर ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भइ काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको छ । उहाँको शव आफन्तले सनाखत समेत गरिसेकेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद बिष्टले बताउनुभयो ।

स्कुटरलाई ठक्कर दिने ट्रकका चालक सर्लाहीको मलंगवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रकलाई भने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २ मा राखिएको छ । दुर्घटनापछिको प्रदर्शनलाई नियन्त्रणमा लिन भक्तपुरका एसपी विष्टको कमाण्डमा ११८ जना र काठमाडौंका विभिन्न कार्यालयबाट १३० जना र सशस्त्र प्रहरीको १२० जनाको टोली खटिएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २२ राउण्ड अश्रु ग्यास समेत प्रहार गर्नु परेको थियो । प्रदर्शनका क्रममा एसपी बिष्ट, प्रहरी सहायक हवल्दार बहादुरे राउत र भक्तपुरको गट्ठाघर बस्ने सौगात सापकोटा सामान्य घाइते हुनुभएको थियो । प्रदर्शनकारीले ट्राफिक आइल्यान्ड, प्रहरी बिट, बिटमा रहेको टेबल, ह्यान्ड सेटमा समेत क्षति पुर्‍याएका थिए ।

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस