२०८१ असोज २७ गते आइतवार | 2024 October 13th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गठ्ठाघरमा ट्रकले लतारेका वृद्ध शहीद परिवारका सदस्य : एक छोरी अष्ट्रेलिया, अर्की अमेरिका उडेको हप्तादिन मात्रै

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ । उहाँ ओखलढुंगाको चिशंखुगढी नगरपालिका–४ रातमाटे घर भई काठमाडौंको कपनमा बस्नुहुने उत्तम कोइराला हुनुहुन्छ । सुरुमा प्रहरीले मृतकको गलत सनाखत गरेको थियो ।

ट्रकको ठक्करबाट गलत नामकी युवतीको निधन भएको विवरण सञ्चारमाध्यमलाई प्रहरीले दिएको थियो । प्रहरीलाईपनि एक व्यक्तिले आफ्नी बहिनी दुर्घटनामा परेर मृत्यु भएका भन्दै दुर्घटना स्थलमा चिच्याउँदै शोकाकुल बनिरहेका थिए । तर ती व्यक्तिले गलत गरेकाले मुद्दा चलाउने तयारी छ । मृतक भनिएकी युवती आफैं सकुशल उपस्थित भएपछि प्रहरी रणभुल्लमा परेको थियो । पछि सीसी क्यामेरा हेरेपछि थाहा भएको हो ।

उत्तम पहिले जनकपुर चुरोट कारखानामा काम गर्नुहुन्थ्यो । कोइरालाको बुबाका दुई श्रीमती हुनुहुन्थ्यो । उहाँ कान्छीपट्टिको छोरा हो । जेठीपट्टिका छोरा महेश कोइराला शहीद हुनुभएको थियो । । उहाँ पञ्चायतविरुद्धको आन्दोलनका क्रममा मारिनुभएको थियो । उहाँको बुबाको जेठीपट्टिका सन्तानमात्रै गाउँमा हुनुहुन्छ । कान्छीपट्टिका सन्तान सबै काठमाडौं बस्दै आउनुभएको छ ।

उत्तमका तीन छोरी छन् । जेठी छोरी अष्ट्रेलियामा हुनुहुन्छ भने माइली छोरी हप्तादिन अघि मात्रै अमेरिका पढ्न जानुभएको थियो । कान्छी छोरी भने काठमाडौंमा पढ्दै हुनुहुन्छ । दुई छोरी आएपछि मात्रै दाहसंस्कार अघि बढ्ने भनेर परिवारका आफन्तले पर्खिएर बसेका छन् ।

ओलखढुंगा घर भएका वरिष्ठ पत्रकार तथा वाल्मीकि क्याम्पसका प्राध्यापक पुरुषोत्तम दाहालका अनुसार ओखलढुङ्गाको सचेत परिवार र गाउँ छहरेका तेजप्रसाद कोइरालाका छोरा, २०३१ को ओखलढुङ्गा काण्डमा शहीद महेश कोइरालाका भाइ, जनकपुर हुँदै वाल्मीकि विद्यापीठका विद्यार्थी भएर शिक्षा प्राप्त, जनकपुर चुरोट कारखानामा सेवागरी निवृत्त ६२ वर्षीय उत्तमका श्रीमती यन्जु र तीन छोरी हुनुहुन्छ । बिहीबार दिँउसो २ बजे गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको मालबहाक ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरमा सवार कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । शव क्षतविक्षत अवस्थामा रहेकाले पाँच घण्टासम्म पहिचान खुलेको थिएन ।

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस