२०८१ असोज ९ गते बुधवार | 2024 September 25th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाई : बेलायतका राजदूत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गर्नुभएको छ । शुक्रवार बिहान खुमलटारमा पुगेर राजदूत फेनले प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट टुंगोमा पुर्‍याएकोमा खुसी व्यक्त गर्दै कार्यान्वयनका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताउनुभयो ।

भेटमा प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताउनुभयो । पीडितमैत्री न्याय, परिपूरण र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । आफू सरकारको नेतृत्वमा रहँदा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताउनुभयो । भेटका क्रममा अध्यक्ष प्रचण्डले गोर्खाजहरूले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गर्नुभयो ।

भेटमा राजदूत फेनले अध्यक्ष प्रचण्डको बलमा शान्ति प्रक्रियाले पूर्णता पाएकोमा बधाई दिँदै नेपालका लागि आवश्यक सहयोगमा बेलायतको सधैँ सहयोग रहने बताउनुभयो । फेनले बेलायती नागरिकहरूमा नेपाली उत्पादनप्रति रुचि बढेको बताउँदै पारस्परिक सहयोग र व्यापारमा समेत साझेदारी बढाउन सकिने बताउनुभयो । प्रचण्डको कार्यकालमा लगानीअनुकूल कानून संशोधन र लगानी सम्मेलन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै नेपालमा वैदेशिक लगानी भित्राउन आफ्नो योगदान रहने बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस