२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अर्बपति थाक्सिनकी छोरी बनिन् थाइल्याण्डको नयाँ प्रधानमन्त्री

Billionaire Thaksin's daughter becomes Thailand's new prime minister

३२ साउन, काठमाडौं । ३७ वर्षकी पेतोङत्रान सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बनेकी छन् । उनी अर्बपति एवम् पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । त्यहाँको संवैधानिक अदालतले ३० साउनमा मात्र प्रधानमन्त्री स्रेथा थबिसिनलाई बर्खास्त गरेको थियो । त्यसपछि सत्तारुढ फेउ थाइ दलले सिनावात्रालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडि सार्‍यो ।

सिनावात्रा परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङत्रान तेस्रो व्यक्ति हुन् । उनका बुवा थाक्सिन र फुपु यिंगलक सिनावात्रा प्रधानन्त्री भएका थिए ।

पेतोङत्रान भने सबभन्दा कम उमेरकी थाइ प्रधानमन्त्री समेत भएकी छन् । २००१ मा पहिलो पटक थाइल्याण्डको प्रधानमन्त्री भएका थाक्सिनले देशको राजनीति हल्लाएका थिए । सन् २००६ मा सेनाले शासन सत्ता हातमा लिएपछि उनले केही वर्ष निर्वासनमा बिताए । उनी गत वर्षमात्र देशमा फर्किएका थिए, जुन दिन फेउ थाई दलले सरकार बनाएको थियो ।

गत वर्ष भएको थाइल्याण्डको चुनाव त मुभ फरवार्ड पार्टीले जितेको थियो । तर सेनाले नियुक्त गरेका सिनेटहरुले सबैभन्दा ठूलो दललाई सरकार बनाउन रोके । दोस्रो दल फेउ थाइले अरु दलहरुसँग गठबन्धन गरेर थबिसिनलाई प्रधानमन्त्री बनायो ।

वर्ष दिन नपुग्दै एक मन्त्रीको नियुक्तिलाई लिएर संवैधानिक अदालतले उनलाई बर्खास्त गर्‍यो । स्रेथा थबिसिनको बर्खास्ती सेना, राजा समर्थित प्रतिष्ठान र थाक्सिन समर्थित दलको बीचमा लामो समयदेखि चलिरहेको लडाईँको नयाँ अध्याय थियो ।

नयाँ प्रधानमन्त्री चुन्न सत्ता गठबन्धनका दलहरुको बैठक बसेको थियो । तर १० मध्ये कुनै पनि दलले दाबी नगरेपछि फेउ थाइले थाक्सिनकी छोरीलाई नयाँ प्रधानमन्त्रीका रुपमा अघि सार्‍यो । सत्ता गठबन्धनसँग ३१४ सांसद छन्, सिनावात्राले बहुमतका लागि ४९३ सांसदको आधाभन्दा बढीको समर्थन जुटाउनुपर्छ ।

तीन वर्षअघि राजनीतिमा आउनुअघि पेतोङत्रानले परिवारको व्यापारिक साम्राज्यको होटल शाखा हेर्थिन् । उनले कहिल्यै निर्वाचित पद सम्हालेकी छैनन् । गत वर्ष चुनावी अभियानमा निरन्तर सहभागी भएपछि उनलाई प्रधानमन्त्रीको दावेदारका रुपमा हेरिएको थियो । तर मतदानको दुई साता अगाडि आमा बनेकी थिइन् ।

 

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस