२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रहरी मलेसिया पठाएर जीबीमाथि अनुसन्धान गर्ने तयारी, अघि बढ्यो प्रक्रिया

Gitendra Babu GB Rai

३१ साउन, काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका गितेन्द्रबाबु (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउन लागिएको छ ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउनेबारे सहजीकरण गरिदिन आग्रह गरेको छ ।

यसअघि पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न नमानेपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो । दुई प्रहरी अधिकृत मलेसिया पठाउन भन्दै गृहलाई पत्राचार गरिएको विषय प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवरले पनि पुष्टि गर्नुभयाे ।

‘नेपाल प्रहरीको टोली मलेसिया पठाउन भनेर पत्राचार गरेका छौं,’ आईजी कुँवरले भन्नुभयो, ‘यसबारे पहल भइरहेको छ, त्योभन्दा बढी अहिले भन्ने अवस्था छैन ।’

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अघिल्लो सरकारकै पालामा पनि नेपाल प्रहरीका दुई अधिकृत मलेसिया पठाउने व्यवस्था मिलाइदिन भन्दै गृहमा परिपत्र गरिएको थियो । तर, त्यतिबेला प्रक्रिया अघि नबढ्दै सत्ता फेरबदल भएपछि अहिले फेरि गृहकार्य गरिएको हो ।

उनीमाथि अनुसन्धान गरेर फर्किने नेपाल प्रहरीको तयारी छ । यद्यपि, यसका लागि समेत मलेसियाली सरकारले स्वीकृति दिनुपर्ने भएकाले यो विषय पनि उतैको सरकारमै भर पर्छ ।
प्रहरी प्रधान कार्यालयले ‘मलेसिया सरकार र त्यहाँको प्रहरीसँग समन्वय गरेर जीबी राईलाई नियन्त्रणमा लिन आवश्यक पहलकदमी गर्नुपर्ने हुनाले दुई प्रहरीलाई मलेसिया जान स्वीकृत गरिदिनु हुन र प्रहरी प्रधान कार्यालयसँग यथेष्ठ बजेट समेत नभएकाले त्यसको व्यवस्था समेत गरिदिनु हुन’ भन्दै गृहमा पत्राचार गरेको छ ।

‘रेड नोटिस’ समेत जारी भएको व्यक्ति र यसअघि समेत पटक–पटक प्रयास गर्दा मलेसियाली सरकारले नेपाल फिर्ता नपठाएपछि अहिले नेपाल प्रहरी टोली नै उतै पठाउन लागिएको हो ।

यसका लागि गृहबाट परराष्ट्र मन्त्रालय हुँदै मलेसियाली दूतावास मार्फत स्वीकृति लिनुपर्ने हुन्छ । प्रहरी प्रधान कार्यालयले पत्राचार गरेपछि अहिले कूटनीतिक पहल समेत भइरहेको गृह स्रोतले जानकारी दियो ।

जीबीलाई नेपाल ल्याउन नदिए पनि उनीमाथि नेपाल प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरिएको छ । जीबी मलेसियामै रहेकाले उनीमाथि लागेको आरोप तथा सहकारी ठगीबारे जानकारी, उनको बयान लगायत विषयबाट केही नयाँ तथ्य खुल्न सक्ने प्रहरीको विश्वास छ ।

प्रहरी अधिकृतहरुका अनुसार नेपाल प्रहरीलाई मलेसिया पठाइएको अवस्थामा मलेसियाली प्रहरीसँग समन्वय गरेर जीबीलाई नेपाल फिर्ता ल्याउन पहल हुनेछ । फिर्ता ल्याउन नसके उनीमाथि अनुसन्धान गरेर फर्किने नेपाल प्रहरीको तयारी छ ।

यसअघि जीबीलाई कूटनीतिक पहल गरी नेपाल ल्याउन नेपाल प्रहरीले करिब साढे २ लाख रुपैयाँ खर्चेर कागजात अनुवाद समेत गरेको थियो । गृह र परराष्ट्रको समन्वयमा २०८० फागुन दोस्रो साता कूटनीतिक पत्राचार गर्दै जीबीलाई नेपाल ल्याउन आग्रह गरिएको थियो । तर, अहिलेसम्म सम्भव हुन सकेको छैन ।

नेपाल प्रहरी स्रोतका अनुसार जीबी क्वालालम्पुरस्थित देशापन्डनमा अपार्टमेन्टमा बसेका छन् । ७ करोड नेपाली रुपैयाँभन्दा बढीमा उनले अपार्टमेन्ट खरिद गरेर बसेको दाबी प्रहरी स्रोतको छ ।

मलेसियाकै अर्को सहर साइबरजयामा उनले मार्टसमेत खोलेको बताइन्छ । १ अर्ब रुपैयाँभन्दा बढी रकम जीबीले मलेसिया लगेर लगानी गरेको दाबी प्रहरीको छ ।

मलेसिया सरकारको ‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणा अनुसार तोकिएको रकम मलेसियाली सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ । सोही अनुसार जीबी मलेसियामा गएर बसेको प्रहरी स्रोत बताउँछ ।

मलेसियामा कुनै अपराध नगरेकोे, अर्ब बढीको लगानी गरेर रोजगारी समेत दिएको व्यक्तिलाई मलेसियाली सरकारले पठाउन चाहँदैन । जीबी पनि मलेसियाको ‘सेकेन्ड होम भिसा’ अवधारणा अनुसार बसिरहेको खुलेको नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी दानबहादुर कार्की बताउँनुहुन्छ ।

‘मेक मलेसिया माई सेकेन्ड होम’ अवधारणा अनुसार मलेसिया बसेका नेपालीसँग यसबारे नेपाल प्रहरीले बुझेको थियो । मलेसियामै रहेको पत्ता लाग्दा पनि जीबी सुरक्षित रहेको यसअघि प्रहरी महानिरीक्षक कुँवर आफैंले बताउनुभएकाे थियाे । ‘जीबीविरुद्ध रेड नोटिस जारी भइसक्यो, तर मलेसियासँग सुपुर्दगी नहुँदा समस्या भएको छ,’ १५ चैत २०८० मा संसद्को राज्यव्यवस्था समिति बैठकमा कुँवरले भन्नुभएकाे थियाे ।

 

प्रकाशित मिति : २०८१ साउन ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस