२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जो हराएको ६४ वर्षपछि घर आइपुग्नुभयो !

कञ्चनपुर । ८१ वर्षीय नरसिंह रतोकी हराएको ६४ बर्षमा भेटिनुभएको छ । बैतडीको मेलौली नगरपालिका–५ सिरोडाको जंगलमा उहाँ फाटेका झुत्रा लुगा लगाएको अवस्थामा भेटिनुभएको थियो । उहाँ आफ्नो ठेगाना बताउन सक्थे अवस्था र राम्रोसँग हिडँडुल गर्न सक्ने अवस्थामा हुनुहुन्न थियो । स्थानीयले सोधपुछ गर्दा उहाँले घर ‘रतोका’ भन्नुभयो । जंगलमा फेला पर्नुभएका उहाँ सिरोडाका नभएको पत्ता लागेपछि १७ साउनमा उद्धार गरेर इलाका प्रहरी कार्यालय मेलौलीमा लगिएको थियो ।

नरसिंहले ठेगाना दोहोर्‍याइरहेको ‘रतोका’ भन्ने पुर्चौडी नगरपालिका–७ मा पर्छ। प्रहरीले त्यहाँ वडाध्यक्ष धीरेन्द्रबहादुर बमलाई उहाँको तस्बीर पठाएपछि उहाँको घर पत्ता लाग्यो । पठाएको तस्बीर त्यहीँका वडा सदस्य गमीसिंह रतोकीका आफ्नै काका नरसिंहको रहेछ। जो ६४ बर्ष पहिले हराउनुभएको थियो । ‘हामीले त भेटिने आस नै मारिसकेका थियौँ। वंशावलीमा अहिलेसम्म ७० वर्ष भन्दा बढी बाँचेका कोही छैनन्,’ उहाँ भन्नुहुन्छ, ‘उहाँ (काका) को तस्बीर देखेपछि परिवारमा खुसीको सीमा नै रहेन।’

नरसिंह २००० सालमा जन्मिनुभएको हो । तीन भाइमध्ये माइला उहाँ सुस्त मनस्थितिका हुनुहुन्छ । नरसिंहका दुई भाइ बितिसक्नुभयो । वि.सं. २०१७ मा उहाँ काम गर्न पिढौरागढ जान्छु भनेर घरबाट निस्किनुभएको थियो । त्यसपछि उहाँ घर फर्किनुभएन । उहाँले २०१५ सालतिर बिहे गर्नुभएको थियो । उहाँ नभएपछि श्रीमतीले पनि घर छाड्नुभयो । नरसिंहका छोराछोरी छैनन्।

 

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस