२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

साउनको अन्तिम सोमबार आमालाई लिएर मन्दिर गएका अंकृतले ज्यान गुमाए, आमाको अवस्था पनि गम्भीर

रुपन्देही । साउनको अन्तिम सोमबारको दिन आमालाई बोलबम मन्दिर लगेर गएका बुटवल १३ बेलबासका अंकृत पाठक घरमा फर्कन पाउनुभएन । बुटवलको बेलबासमा उहाँले चलाएको स्कुटरलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते हुनुभएका उहाँको उपचारकै क्रममा मृत्यु भएको हो ।

उहाँसँगै रहनुभएकी आमाको अवस्था पनि गम्भीर रहेको छ । अहिले आमाको आइसियुमा उपचार भइरहेको छ । दुर्घटनामा उहाँहरूलाई ठक्कर दिने मोटरसाइकलका चालक पनि गम्भीर घाइते हुनुहुन्छ । सोमबार बिहान भएको सो घटनामा बुटवल उपमहानगरपालिका १३ का २३ वर्षीय अंकृत पाठकको मृत्यु भएको र दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले जानकारी दिनुभयो ।

सोमबार बिहान लु १९ प ८८७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु ८५ प ३१३३ नम्बरको स्कुटर बेलबास चोकमा आपसमा ठोक्किएका थिए । दुर्घटनाबाट गम्भीर घाइते भएका स्कुटरका चालक पाठकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको प्रहरी प्रमुख पण्डितले बताउनुभयो ।

यस्तै दुर्घटनामा परी अंकृत पाठककी ४३ वर्षीया आमा गौमुखी पाठक गम्भीर घाइते हुनुभएको छ । साथै मोटरसाइकलका चालक कपिलवस्तुको वाणगंगा घर भएका १८ वर्षीय सागर थारु गम्भीर घाइते अवस्थामा हुनुहुन्छ । घाइते दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४३ वर्षीया पाठकको अवस्था गम्भीर रहेको छ ।

आमालाई लिएर बिहानै उहाँ बोलबम मन्दिर जाँदै गरेको अवस्थामा घटना भएको स्थानीय डिआर घिमिरेले बताउनुभयो । राजमार्ग क्षेत्रमा बुटवलको जीतगढीदेखि बेलबाससम्मको क्षेत्रमा बढी दुर्घटना हुने गरेको र सडक छेउमा व्यवसाय गर्नेहरूलाई व्यवस्थित गरेर राजमार्ग क्षेत्रको व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस