२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सिउँडी फल पाकेर राताम्मे बगैँचा

फिदिम, साउन २६ गते । पाँचथरको हिलिहाङ–७ का किसानले लगाएको सिउँडी फल (ड्र्यागन फल) पाकेर त्यहाँका बगैँचा राताम्मे भएका छन् । यहाँका फणीन्द्र रिजाल र ओमनाथ रिजाललगायतका किसानले तीन वर्षअघि परीक्षणका लागि लगाउनुभएको ड्र्यागन फलको उत्पादन राम्रो भएपछि यसको व्यावसायिक उत्पादन गर्न थालिएको हो ।

त्यसका लागि करिब एक सय रोपनी जग्गा व्यवस्थापन गरिएको छ । घमाइलो, दक्षिण फर्केको जमिन र बलौटे माटोमा रमाउने यो फलको उत्पादन दक्षिण र मध्य अमेरिकाबाट सुरु भएर नेपालसम्म विस्तार भएको हो । रोपेको १५ देखि १८ महिनामा उत्पादन सुरु भएको यहाँस्थित ड्र्यागन फलका विशेषज्ञ पूर्णप्रसाद लुइटेलले जानकारी दिनुभयो ।

एक पटक रोपेका बिरुवाले २० देखि २५ वर्ष उत्पादन दिने उहाँको भनाइ छ । यसको उत्पादन जेठदेखि कात्तिकसम्म हुन्छ ।

यतिखेर हिलिहाङका बगानमा दोस्रो सिजनका ड्र्यागन फल पाकेका हुन् । यसअघि असारको पहिलो साता पहिलो पटक ड्र्यागन पाकेका थिए । कोपिला लागेको ३४ दिनमा फल टिप्न तयार हुन्छ । यसका बिरुवा रोपेपछि हिउँदमा पानी लगाउने र बर्सातमा एक÷दुई पटक गोडेर मल हाल्नबाहेक अरू मेहनत गर्नु पर्दैन ।

थाङ्ग्राका रूपमा फलामका ससाना पिल्लर बनाएर टायरको बाहिरी भाग राखिन्छ । पिल्लरका टुप्पामा राखिएको टायरमा जेलिएका बिरुवामा ड्र्यागन उत्पादन हुन्छ । पाँचथरमा पहिलो पटक उत्पादन सुरु भएको यो फलको मूल्य स्थानीय बजारमा प्रतिकिलो चार सय रुपियाँसम्ममा बिक्री भइरहेको उत्पादकहरू बताउँछन् ।

मानव शरीरलाई चाहिने सम्पूर्ण तìव एवं धेरै खाले औषधीय गुण यसमा पाइने र असाध्यै रसिलो तथा स्वादिष्ट भएकाले यस फललाई ‘सुपर फ्रुट’ भन्नेहरू पनि धेरै छन् । यसले रोग प्रतिरोगात्मक क्षमता बढाउने र शरीरमा शक्ति तथा ऊर्जा वृद्धि गर्ने भएकाले औषधीय फल पनि भनिन्छ ।

ड्र्यागन फ्रुट सामान्यतया तीन प्रकारका हुन्छन्– रातो, सेतो र पहेँलो । यी तिनै किसिमका फलको बोट, हाँगा, फूल र पाक्नुअघिको फल भने उस्तै उस्तै देखिन्छ । फल पाक्न थालेपछि आफ्नै खास रङमा परिणत हुन्छन् । अहिले यी तीन प्रजातिको नेपालमा सफल उत्पादन भइसकेको विज्ञहरूको भनाइ छ  ।

 

प्रकाशित मिति : २०८१ साउन २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस