२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मात्र नेपालमा ४२ वर्षमा ३९ हेलिकोप्टर दुर्घटना, ९७ जनाको मृत्यु

काठमाडौं । एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनासँगै नेपालमा ४२ वर्षको अवधिमा ३९ वटा हेलिकोप्टर दुर्घटना भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणकाअनुसार यी दुर्घटनामा ९७ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो हेलिकोप्टर दुर्घटना सन् १९७९ डिसेम्बर २७ मा भएको थियो । लाङटाङमा भएको नेपाली सेनाको भीभीआईपी हेलिकोप्टर दुर्घटनामा ६ जनाको निधन भएको थियो । त्यसयता हेलिकोप्टर दुर्घटना निरन्तर बढ्दै गएका छन् ।

सबैभन्दा धेरै मानवीय क्षति भने सन् २००६ मा ताप्लेजुङको घुन्सामा भएको श्री एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा भएको थियो । २४ जनाको ज्यान जाने गरी भएको उक्त दुर्घटनामा तत्कालीन मन्त्री गोपाल राईसहित उच्च सरकारी अधिकारीहरूको निधन भएको थियो । यसले नेपालको हवाई सुरक्षामाथि नै प्रश्न उठाएको छ । गत वर्ष दुई वटा हेलिकोप्टर दुर्घटना भएका थिए । २०८० वैशाख २१ गते संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको थियो भने असार २६ गते मनाङ एयरको नाइन एन–एएमभी हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सन् २००१ देखि २०२४ सम्मको अवधिमा मात्रै ३० वटा हेलिकोप्टर दुर्घटना भएका छन् । २००० अघिका दुर्घटनामा १० जनाको मृत्यु भएकोमा त्यसयता ८७ जनाले ज्यान गुमाइसकेका छन् । सन् २००६ मा सबैभन्दा बढी ५ वटा हेलिकोप्टर दुर्घटना भएको तथ्याङ्क छ ।

नेपालको हवाई क्षेत्र असुरक्षित भन्दै सन् २०१४ देखि युरोपियन युनियनले नेपालको हवाई सेवालाई सुरक्षा सूचीमा राखेको छ । उक्त सूचीबाट हटाउने तयारी भइरहेका बेला यो वर्ष एक महिनाकै अन्तरमा दुई वटा हवाई दुर्घटना भएका छन् । दुई साताअघि सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने चालक बाँच्न सफल भएका थिए ।

 

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस