२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पहिरोमा आफ्नो ज्यान दिएर बसका सबै यात्रुहरु बचाउने चालकलाई सरकारले सम्मान गर्ने

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ । उहाँले पहिरोमा आफ्नो ज्यान दिएरपनि बसका यात्रुहरु बचाउनुभएको थियो ।

गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको हो ।

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिनुभयो । ‘कस्तो सम्मान, कति राहत भन्ने कुरा पछि खुल्ला तर आफू मरेर बसका यात्रुलाई जोगाएकाले चालकलाई मरणोपरान्त सम्मान गर्ने निर्णय भएको छ,’ भट्टराईले भन्नुभयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अर्का एक अधिकारीका अनुसार उहाँ (चालक) लाई विभूषणसहित सम्मान गर्ने प्रस्ताव कार्यकारी समितिमा पेस भएको थियो ।

बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिनुभयो । उहाँलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उहाँले चलाएको बसमा करिब ३० जना यात्रु हुनुहुन्थ्यो । उहाँ बाहेक सबै यात्रु जोगिनुभयो । बस यस्तो भीरमा थियो की, आफूलाई बचाउँन आत्तिएको अवस्था भए कोहीपनि बाँच्न पाउँने अवस्था थिएन । सोही दिन नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोसहित दुई वटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए । दुईवटा बसमा ६५ यात्रु रहेकामा तीनजना पौडिएर ज्यान जोगाउन सफल भएका थिए । नेपाल र भारतका गोताखोरसहितको टोलीले खोजी गर्दा २४ जनाको शव भेटिए पनि अन्य यात्रु र बसहरुको अवस्था हालसम्म अज्ञात छ ।

 

प्रकाशित मिति : २०८१ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस