२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धेरै बोलेर समय खेर फाल्दिनँ, काम गरेर देखाउँछु : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू धेरै बोल्नेभन्दा पनि काम गर्ने मान्छे भएको बताउनुभएको छ । बिहीवार काठमाडौं महानगरपालिका–८ को प्रशासनिक भवन उद्‍घाटनका अवसरमा प्रमुख शाहले धेरै बोल्नेभन्दा पनि काम गर्न जरुरी रहेको बताउनुभयो । प्रमुख शाहले कार्यक्रमहरूमा लामो सम्बोधन र भाषण गरेर समय लिनेभन्दा काममा समय दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले भवन उद्घाटनमा ठूलो कार्यक्रम गरिरहनु नपर्ने बताउनुभयो । उहाँले २२ वर्षको मेहनतले सम्पदा शैलीमा वडा भवन बनाएकाले आकर्षक देखिएको उल्लेख गर्नुभयो । उहाँले पशुपति क्षेत्रका सडकहरू चाँडो र तीव्र गतिमा बन्दै जाने विश्वास रहेको सुनाउनुभयो । उहाँले विशेषगरी पशुपति क्षेत्र आफैँमा सम्पदा क्षेत्र भएकाले वडा भवनको मुहार जस्तै सम्पदामैत्री सडक र घरहरुको मुहार हेर्ने चाहना रहेको सुनाउनुभयो ।

उहाँले सम्पदामैत्री क्षेत्र‚ सम्पदामैत्री सडक र घर तथा भवनहरू बनाउनका लागि काठमाडौँ महानगरले बजेटसमेत व्यवस्था गरेको जानकारी गराउनुभयो । प्रमुख शाहले सम्पदा क्षेत्रका घरहरू सम्पदामैत्री शैलीमा हुँदा पर्यटकीय क्षेत्र अझ राम्रो देखिने बताउँदै सम्पदा शैलीका सडक, घर र भवनहरू भए पर्यटक आकर्षित हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस