२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मन्त्रोच्चारण गर्दागर्दै पक्राउ परे धर्मगुरु, नेताहरूको फोटो राखेर गर्दै थिए मृत्यु अनुष्ठान

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ज्योतिषी तथा धार्मिक अभियन्ता पुष्कर खतिवडा आफ्नो निवासबाटै पक्राउ परेका छन् । उनी एक धार्मिक अनुष्ठानमा सहभागी हुँदै गर्दा काठमाडौं प्रहरी परिसरबाट आएको प्रहरी टोलीले उनलाई उठाएर लगेको थियो । यो अनुष्ठानको प्रयोजन आपत्तिजनक भएकाले प्रहरीले पक्राउ गरेको हो । यद्यपी प्रहरी नियन्त्रणबाटै उनले सामाजिक सञ्जालमा आफू पक्राउ परेको सूचना दिन भ्याइसकेका छन् ।

उनले लेखेका छन्, ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौं देश बनोस् ।’

चार दिनअगाडि नै नेताहरूको मृत्युको कामना गर्दै एउटा अनुष्ठान आयोजना गर्न लागेको र त्यसमा सबैले साथ दिन भन्दै भिडिओ पोष्ट गरेका थिए । त्रिभुवन विमानस्थलमा जहाज दुर्घटना भएलगत्तै उनले यो भिडिओ पोस्ट गरेका थिए ।
उनले यस्तो भनेका थिएः

मलाई धेरैले गाली गर्नुहोला । नराम्रो भन्नुहोला । नकारात्मक कमेन्ट गर्नुहोला । तर, मलाई यसले खासै फरक पर्दैन । अब अति नै भइसकेको छ । श्रावणको सोमबार मेरो नित्य साधनाको समयमा, यो देशलाई खाल्डामा हाल्ने नेताहरू जति छन्, उनीहरूको फोटो हारसहित राखेर यमराजको मूर्ति निर्माण गरेर वा फोटो राखेर उनीहरूको मृत्यूको लागि यमराजको पूजा गर्ने निर्णय गरेको छु ।

तपाईंहरू पनि यो पूजामा सहभागी भएर उनीहरूलाई तीलाञ्जली वा तर्पण दिन चाहनुहुन्छ भने यो महान कार्यमा सहभागी भइदिनु होला । गाली गर्नेलाई यो कमेन्ट बक्स खुला छ ।’

कमेन्टहरू अत्यधिक समर्थनमा आएपछि हौसिएका खतिवडाले आज साँच्चिकै सो अनुष्ठानको आयोजना गरे । केही युट्युवरहरू अनुष्ठानको भिडिओ खिच्न पुगेका थिए । खतिवडाले आफ्नो फेसबुक पेजमा अनुष्ठानको लाइभ पनि गरेका छन् । पूजा सामग्रीहरूको बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूको फोटो राखेको भिडिओमा देखिन्छ । खतिवडाले मन्त्रोच्चारण गरिरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

 

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस