२०८१ असोज २६ गते शनिवार | 2024 October 12th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हराएको बस खोज्न भारतबाट ल्याइएको १९ किलोको चुम्बक नै गायब

काठमाडौं । नारायणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक नै गायब भएको छ । चुम्बक त्रिशूलीमा नदीमा नै हराएको दाबी गरिएको छ ।

बेपत्ता बस र यात्रुहरुको खोजी गर्न नेपाल सरकारले भारत सरकारलाई पत्राचार गरेसँगै भारतले नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली नेपाल पठाएको थियो। सो टोलीले ल्याएको पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेट अन्तरगर्तको १९ किलोको चुम्बक खोजी गर्ने क्रममा हराएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त टोलीले १९ र १४ किलोको दुई चुम्बक ल्याएका थिए। सो मध्य १९ किलोको चुम्बक खोजतलासका क्रममा हराएको हो। ‘खोजी गर्ने क्रममा पानीले बगाएछ।’ उहाँले भन्नुभयो ।

सहायक अधिकारीले भारतीय टोलीसहितको उपकरणले खोजी गर्दा पनि दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति नदेखिएको सुनाउनुभयो । गत असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो।

उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए। अझै दुई बससँगै अधिकांश यात्रुको अवस्था पत्ता लाग्न सकेको छैन।

 

 

प्रकाशित मिति : २०८१ साउन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस