२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सौर्यका घाइते क्याप्टेन मनिषले खोले जहाज दुर्घटनाको कारण

Surya Captain

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उहाँको उपचार भइरहेको छ ।

क्याप्टेन शाक्य सामान्य कुराकानी गर्न सक्नुहुन्छ । बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको कुरा खुलाउनुभएको छ । ‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो,’ शाक्यको भनाइ उद्धृत गर्दै डा. थापाले भन्नुभयो, ‘त्यसपछि जहाज मेरो नियन्त्रणमा भएन ।’

‘एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ,’ उहाँले घटनाबारे आफ्नो सम्झना सुनाउनुभयो । काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्‍याइएको थियो ।

‘उहाँको शरीरको विभिन्न भागमा इन्जुरी थियो । मुख, खुट्टा, आँखाको भाग, टाउको लगायतमा चोटपटक लागेको थियो,’ डा. थापाले भन्नुभयो, ‘प्राथमिक उपचार गरेपछि हामीले विभिन्न परीक्षण सुरु गरेका थियौं ।’

अस्पतालका अनुसार क्याप्टेन शाक्यको शरीरका विभिन्न भागमा चोटपटक लागेका हुनाले हाडजोर्नी विशेषज्ञ, न्यूरोसर्जन, नाक, कान घाँटी लगायत विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच गरिरहनुभएको छ । डा. थापाका अनुसार बुधबारै क्याप्टेन शाक्यको सिटीस्क्यान, एक्सरे, रगत लगायत परीक्षण गरिएको थियो । शाक्यको नाकको हड्डी भाँचिएको छ । त्यसैगरी ढाडको एक हड्डी भाँचिएको छ । ‘हिजो गरिएको सिटीस्यानको रिपोर्टले ढाडको हड्डी भाँचिएको देखिएको छ । तर शरीरको अन्य भागमा ठूलो चोट देखिएको छैन,’ डा. थापाले भन्नुभयो । ‘नाक, कान र घाँटी विशेषज्ञ र थर्मोलोजिस्ट लगायत चिकित्सकले हिजो अप्रेसन गर्नुभएको थियो । त्यसपछि हामीले न्यूरो आईसीयूमा राखेर उपचार गराइरेका छौं,’ डा थापाले जानकारी दिनुभयो ।

डा. थापाका अनुसार उहाँ खतरामुक्त हुनुहुन्छ र स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ । चोटका कारण मस्तिष्क भने केही सुन्निएको उहाँले बताउनुभयो । त्यसैगरी आँखाको भिजनमा पनि थोरै समस्या देखिएको छ । थप समस्या थाहा पाउन आज एमआरआई गर्ने डा. थापाले बताउनुभयो । ‘अरु कुनै जटिलता छ कि छैन भनेर आज पुन एमआरआई गर्ने योजना छ,’ डा. थापाले भन्नुभयो, ‘एमआरआईको रिपोर्ट आएपछि थप स्वास्थ्य अवस्थाबारे जानकारी दिन सकिएला ।’

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस