२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

त्रिभुवन विश्वविद्यालयमा यस वर्ष पनि दुई बर्ष अघिको प्रश्नपत्र हुबहु

१० साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ । मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो ।

नेपाली केन्द्रीय विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेले डीन कार्यालयको बद्मासीले प्रश्नपत्र दोहोरिन पुगेको बताउनुभयो । ‘डीन कार्यालयले बद्मासी गरेर त्यस्तो भएको हो । हामीले दुई सेट प्रश्नपत्र बनाएर दिएका थियौं उनीहरुले प्रिन्ट गर्दा पुरानो गरेछन्’, उहाँले भन्नुभयो । सहायक डिन किरण आचार्यलाई कसरी यस्तो भयो भनेर प्रश्न गर्दा कर्मचारीको गल्तीले यस्तो भएको भन्दै माफी मागेको न्यौपानेले बताउनुभयो ।
करिब डेढ घण्टासम्म पनि डिन कार्यालयले प्रश्नपत्र दोहोरिएको विषय उपकुलपति र रजिस्ट्रारलाई जानकारी नगराएको पाएपछि आफैैंले जानकारी गराएर छानबिन गर्न अनुरोध गरेको न्यौपानेले बताउनुभयो ।

विभागले दुई सेट प्रश्नपत्र बनाई ‘मोडरेटर’ हरुको हस्ताक्षर सहित लाहछाप गरेर पठाउँदा पनि पुरानै प्रश्नपत्र दोहोरिएपछि फोन गरेर बुझ्दा कर्मचारीमाथि आक्षेप लगाएर उम्कन खोजेको उहाँको भनाइ छ । ‘कसरी यस्तो भो भनेर फोन गरेपछि मैले होइन, कर्मचारीले हो भन्दै माफी माग्नुभएको छ अब त्यो माफीको पुरस्कार भिसी रजिष्ट्रारले कसरी लिनुहुन्छ थाहा छैन’, उहाँ भन्नुभयो ।

विगतमा पनि प्रश्नपत्र दोहोरिँदा कर्मचारीलाई दोष देखाएर उच्च अधिकारीहरु उम्किएको प्रा. डा. न्यौपानेले बताउनुभयो । मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन किरण आचार्यले भने मानवीय त्रुटिका कारण नहुनुपर्ने गल्ती भएको बताउनुभयो । ‘उहाँहरुले हार्डकपीसँगै सफ्टकपी ल्याउनुभएको रहेछ, सफट्कपी ल्याउनुभएको पेनड्राइपमा भएको फाइलहरु फर्म्याट गर्दा पोर सालको खोलेछ’, उहाँले भन्नुभयो ‘यो एकदमै मानवीय त्रुटि हो यसमा कसैको गल्ती छैन । भुलबश हुनै नहुने कुरा भयो ।’

त्रिविका रजिष्ट्रार प्रा.डा. केदार रिजालले यो विषयमा छानबिन गर्ने तयारी भएको बताउनुभयो । ‘भोलि फस्ट आवरमा कार्यकारिणीको बैठक बसेर यसको विषयमा निर्णय गरेर काम अगाडि बढाउँछौं उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस