२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पेरिस ओलम्पिकमा फुटबल आजदेखि सुरु हुँदै, अर्जेन्टिनाले मोरक्कोसँग खेल्ने

८ साउन, काठमाडौं । पेरिस ओलम्पिक-२०२४ अन्तर्गत फुटबलका खेलहरू आजदेखि नै सुरु हुँदैछ । ३३औं गृष्मकालीन ओलम्पिकको उद्घाटन जुलाई अर्थात आउने बिहीबार हुने भए पनि फुटबललगायत केही खेलहरू भने त्यसअघि नै सुरु हुनेछन् ।

आजदेखि फुटबल र रग्बी सेभेन्सका खेलहरू सुरु हुनेछन् भने बुधबार आर्चरी र ह्यान्डबलको प्रतिस्पर्धा सुरु हुनेछ । पुरुष फुटबलअन्तर्गत आज पहिलो खेल अर्जेन्टिना र मोरक्कोबीच हुनेछ । समूह बी मा रहेका यी दुई टोलीबीचको खेल सेन्ट एटिएनमा नेपाली समय अनुसार साँझ ६ बजे सुरु हुनेछ ।

यस्तै समूह बी मै रहेका इराक र युक्रेनबीचको खेल आजै लियोनमा हुनेछ । समूह ए अन्तर्गत आयोजक फ्रान्सले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग खेल्नेछ र गिनी र न्युजिल्याण्डबीचको खेल पनि आजै हुनेछ ।

यसैगरी समूह सी अन्तर्गत उज्वेकिस्तान र स्पेन तथा इजिप्ट र डोमिनिक रिपब्लिक तथा समूह डी अन्तर्गत जापान र पाराग्वे तथा मालि र इजरायलबीचको खेल पनि आजै सुरु हुनेछ । महिला फुटबलका खेलहरू भने बुधबारदेखि सुरु हुनेछन् ।

पेरिस ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टोली मात्र सहभागी छन् । पुरुषतर्फ चार समूह र महिलातर्फ तीन समूहमा विभाजन गरेर खेलाइनेछ । यसअघि २०२१ मा जापानमा भएको टोकियो ओलम्पिकमा स्वर्ण जितेको ब्राजिल भने यसपटक ओलम्पिकमा छनोट हुन सकेन ।

यसपटक अर्जेन्टिना र स्पेन पुरुष फुटबलमा स्वर्णको मुख्य दाबेदारको रुपमा छन् । अर्जेन्टिनाले केही समयअघि कोपा अमेरिका र स्पेनले युरोकपको उपाधि जितेको थियो । तर, ओलम्पिकमा भने यु-२३ टिमले प्रतिस्पर्धा गर्नेछ जसमा २३ वर्षमाथिका ३ खेलाडी मात्र हुनेछन् ।

विश्वकप तथा कोपा अमेरिकाको उपाधि जितिसकेका युवा स्टार जुलियन अल्भारेज अर्जेन्टिनाको ओलम्पिक खेल्ने टिममा छन् । यस्तै स्पेनमा फर्मिन लोपेज, एरिक गार्सिया, एलेक्स बाएना जस्ता खेलाडी छन् । घरेलु टोली फ्रान्स स्ट्राइकर लाकाजेटको कप्तानीमा खेल्दैछ । सिनियर टिमका कप्तान केलिएन एमबाप्पे भने पेरिस ओलम्पिकमा खेल्ने छैनन् । नयाँ क्लब रियल मड्रिडले आफ्नो क्लबका खेलाडीलाई ओलम्पिकमा सहभागी हुन नदिने बताएपछि एमबाप्पेले घरेलु मैदान ओलम्पिक खेल्ने अवसर पाएनन् ।

 

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस