२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नियम अनुसार विद्युत् बक्यौता उठाइन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नियम अनुसार विद्युत् बक्यौता उठाइने बताउनुभएको छ ।
मंगलबार साँझ सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीले विद्युतको बक्यौता पनि उठाउनु पर्ने उद्योग पनि चलाउनु पर्ने उल्लेख गर्नुभएको छ । ‘हामीलाई उद्योगहरूबाट बक्यौता उठाउनु छ, उद्योग पनि चलाउनु छ, त्यहाँका मजदुरको रोजगारी पनि जोगाउनु छ र कुल गार्हस्थ्य उत्पादन पनि बढाउनु छ’, ओलीले लेख्नु भएको छ ।

यस विषयमा सरकार र विद्युत् प्राधिकरणका बिचमा बाहिर आए जस्तो कुनै मतभेद नरहेको पनि ओलीले प्रष्ट पार्नुभएको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र जगदम्बा सिन्थेटिक उद्योगमा काटिएको विद्युत् लाइन अहिले जोडिएको उहाँले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीले बक्यौता रकम तिर्न बाँकी रहेका उद्योगमा कमिसन लिएर काटिएको लाइन जोड्न निर्देश दिएको भन्दै प्रतिनिधि सभा बैठकमा नै माओवादीका एक सांसदले भ्रम फैलाउने प्रयास गर्नुभएको थियो । त्यसको जवाफ प्रधानमन्त्रीले हिजोको प्रतिनिधि सभा बैठकमा पनि दिनुभएको थियो । उहाँले सरकारी राजश्व एक पैसा पनि नछाड्ने तर कसैलाई कुरा मिलेन भन्दैमा नियम विपरीत रकम तिर भन्न पनि नमिल्ने जवाफ दिनुभएको थियो ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस