२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्रोएसियामा नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु

८ साउन, काठमाडौं । क्रोएसियाको एक स्याहार केन्द्र (नर्सिङ होम) मा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार सोमबार बिहान १० बजेर १० मिनेटमा एक व्यक्ति नर्सिङ होममा प्रवेश गरी वृद्धवृद्धाहरुमाथि अन्धाधुन्द गोली चलाएका थिए ।

यो घटनामा ५ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा केही घाइते भएका छन् । चार जना घाइतेहरुको अवस्था गम्भीर रहेको स्थानीय प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्ति त्यहाँबाट फरार भएर एक क्याफेमा लुक्न गएका थिए । उनलाई प्रहरीले त्यहीँबाट पक्राउ गरेको छ । उनको साथबाट अवैधानिक बन्दुक बरामद भएको क्रोएसियाका मिडियाहरुले उल्लेख गरेका छन् ।

उनी सेवानिवृत्त सैन्यकर्मी भएको खुलेको छ । तर उनले गोली चलाउनुको कारण भने खुलेको छैन । स्थानीय मिडियाहरुका अनुसार उनले गोली चलाएर हत्या गरेका व्यक्तिहरुमध्ये एक जना उनको नातेदार पनि हुन् । क्रोएसियाका राष्ट्रपति जोरान मिलानोभिक र प्रधानमन्त्री आन्द्रेज प्लेनकोभिकले घटनाबाट स्तब्ध भएको भन्दै दोषीलाई कानुन बमोजिम कडा कारबाही गर्ने बताएका छन् । राष्ट्रपति मिलानोभिकले बन्दुक राख्न पाउने नियमलाई अझै कठोर बनाउन आह्वान पनि गरेका छन् ।

 

 

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस