२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओलीको निजी सचिवमा सहसचिव कुँवर नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवर नियुक्त हुनुभएको छ । निजी सचिवमा नियुक्त आफूले आइतबारदेखि सिंहदरबार पुगेर काम थालिसकेको कुँवरले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहनुभएका कुँवरको प्रधानमन्त्री ओलीले निजी सचिव नियुक्त गरेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भइसकेको छ ।

२०८० मंसिरमा स्वास्थ्य मन्त्रालयमा आउनुअघि कुँवर गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवको जिम्मेवारी सम्हालेर आउनुभएको थियो । गण्डकी प्रदेश जानु अघि भने उहाँ आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशकको जिम्मेवारीमा रहनुभएको थियो । विभागमा भन्दा पहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत रहदाँ प्रवक्ताको जिम्मेवारीमा समेत रहनुभयो । त्यस अघि लोकसेवा आयोगमा कार्यरत हुनुहुन्थ्यो । यसैगरी प्रधानमन्त्री ओलीको निजी उपसचिवको जिम्मेवारीमा विष्णु सुवेदी आउनुभएको छ ।

प्रधानमन्त्रीको निजी सचिवमा यस अघि उपसचिव बस्दै आउनुभएमा प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसचिव नवराज ढुङ्गानालाई निजी सचिव नियुक्त गर्नुभएको थियो । पछि उहाँलाई राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाएपछि सहसचिव अर्जुन भण्डारीले पूर्व प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयको नेतृत्व गर्दै आउनुभएको थियो ।

मन्त्रीको निजी सचिव पनि उपसचिव र प्रधानमन्त्रीको पनि उपसचिव नै हुँदा नमिलेको भन्दै त्यसलाई मिलाउनका लागि सहसचिव कायम गरिएको थियो । मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था रहेको छ ।

 

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस