२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओलीमाथी कांग्रेस सभापति देउवाका यी तीन विश्वास

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा उहाँले आर्थिक शिथिलतालाई गति दिँदै रोजगारीका थप अवसरको सिर्जना र चलायमान अर्थतन्त्रको निर्माणमा सरकारले ठोस योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

‘माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ,’ देउवाले भन्नुभयो, ‘वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्णकार्यान्वयनका लागि आवश्यक कानूनहरूको निर्माण, लगानीको वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गति दिँदै रोजगारीका थप अवसरको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिनुहुने दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी भएको बताउँदै उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्नेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो । ‘प्रधानमन्त्री अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रीमण्डलमा रहेका साथीहरु पनि योग्यलाई सक्षम हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘उहाँहरूको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले सात बुँदे सहमति कार्यान्वयन प्रति कांग्रेस दृढ रहेको जिकिर गर्दै एमाले पनि दृढ रहनेमा आफू पूर्णरुपले विश्वस्त रहेको पनि बताउनुभयो । ‘राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उहाँले भन्नुभयो, ‘तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ । एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा पूर्णरुपले विश्वस्त छु ।’

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस