२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओलीलाई दुई तिहाइ सांसदहरूको समर्थन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाई विश्वासको मत पाउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा १८८ मत आएको हो ।

बहुमतका लागि १३८ जना सांसदको साथ भए पुग्थ्यो। प्रधानमन्त्री ओलीलाई दुई तिहाई सांसदको समर्थन प्राप्त भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकमा २६३ जना सांसद उपस्थित हुनुहुन्थ्यो । प्रस्तावको विपक्षमा ७४ मत आएको र मत दिन्न भन्नेमा १ मत आएको सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सुनाउनुभयो ।

नेकपा (एमाले) का अध्यक्ष ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार प्रधानमन्त्री ओलीले आइतबार विश्वास मत लिनुभएको हो ।

प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरूले मत दिनुभयो । प्रधानमन्त्रीले राखेको विश्वास मतको प्रस्तावका विपक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत उभिएका छन्।

गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने लगायत ७ बुँदे सहमति भएको थियो। जसअनुसार पहिलो दुई वर्ष ओली र चुनाव गराउने गरी पछिल्लो डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति छ।

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस