२०८१ पुष ८ गते सोमवार | 2024 December 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव

Nepal landslide twin bus accident

४ साउन, काठमाडौं । सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोलीले उक्त शव फेला पारेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिहिबार राति करिब साढे ९ बजेको समयमा भारतको चम्पारण नगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला परेको हो । शवको पहिचान भइसकेको छैन ।

सशस्त्र प्रहरी बलका अनुसार भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी छ । योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ । २८ असारको बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका–२९, सिमलतालमा पहिरो गएको थियो ।

लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता बस फेला पर्न सकेको छैन ।

 

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस