२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सम्झनाको विस्फोटक ब्याटिङले एसिया कपमा नेपालको यूएईमाथी शानदार जित

Explosive batting to remember Nepal's spectacular victory over UAE in the Asia Cup

काठमाडौं । महिला एसिया कप क्रिकेटमा नेपालले विजय सुरुवात गरेको छ । उद्घाटनपछिको पहिलो प्रतिस्पर्धामा नेपालले यूएईमाथी शानदार जित हासिल गरेको हो । शुक्रबार श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’ मा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो। खेलमा ओपनर सम्झना खड्काले विस्फोटक ब्याटिङ्ग गरिन् । उनले ४५ बलमा ७२ रन जोडिन् । खेल अवधिभर नटआउट रहेकी खड्काले ११ चौका प्रहार गरिन् ।

एसिया कपमा नेपालले पहिलो जित निकालेको हो। यसअघिका दुई संस्करणमा नेपाल सबै खेलमा पराजित भएको थियो। शुक्रबार यूएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ‌ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

पूजा महतो ७ रनमा नटआउट रहिन्। अर्की ओपनर सीता रानामगर ७ रनमा आउँदा कविता कुँवरले २ रन मात्र जोड्न सकिन्। कप्तान इन्दू वर्मा ६ रनमा आउट हुँदा रुबिना क्षेत्री १० रनमा बोल्ड भइन्। बलिङमा यूएईकी कविशाले ३ विकेट लिइन्।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन जोड्यो। यूएईका लागि खुसी शर्माले सबैभन्दा बढी ३६ रन बनाइन्। नेपालकी कप्तान इन्दू वर्माबाट क्याच हुनुअघि उनले ३९ बलमा २ चौका प्रहार गरिन्।

त्यसअघि नेपालले यूएईकी ओपनर तथा कप्तान इशा ‌ओजालाई दोस्रो ‌ओभरमा १० रनमा रनआउट गरेको थियो। अर्की ओपनर तिर्था सतिथलाई नेपालकी कप्तान इन्दू वर्माले आउट गरिन्। त्यसअघि सबनम राईले रिनथा रजितलाई ६ रनमा पेभिलियन फर्काएकी थिइन्। सामिरालाई कप्तान इन्दूले १३ रन र किभिसालाई कृतिका मरासिनीले २२ रनमा आउट गरे।

बलिङमा कप्तान इन्दूले ३ विकेट लिइन्। उनले ४ ओभरमा १९ रन खर्चिइन्। सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १-१ विकेट लिए। नेपालले यूएईका दुई ब्याटरलाई रनआउट गर्‍यो। अब नेपालले दोस्रो खेलमा पाकिस्तानसँग आइतबार प्रतिस्पर्धा खेल्नेछ।

नेपाली टोली : १ रुबिना क्षेत्री, २ सीता रानामगर, ३ इन्दू वर्मा (कप्तान), ४ कविता कुँवर, ५ कविता जोशी, ६ पूजा महतो, ७ विन्दू रावल, ८ सम्झना खड्का, ९ काजल श्रेष्ठ (विकेटकिपर), १० कृतिका मरासिनी, ११ सबनम राई

नेपाली महिला टोलीले तेस्रोपटक एसिया कपमा प्रतिस्पर्धा गरेको हो। यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो। नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन्। समूह ‘बी’ मा बङ्गलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड छन् ।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस