२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन, दुर्घटनामा गुमाउनु परेको थियो १८ बर्षीय छोरा

काठमाडौं । द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो सयमदेखि आन्द्रामा देखिएको संक्रमणको उपचार गराइरहेकी श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहान करिब ८ बजे निधन भएको हो । उच्च स्रोतका अनुसार श्रेष्ठलाई पेटको आन्द्रामा गम्भीर प्रकारको संक्रमण देखिएको थियो । मेडिसिटी अस्पतालमा नै उहाँको लामो समयदेखि त्यसको उपचार पनि भइरहेको थियो । ‘उहाँको आन्द्रामा गम्भीर संक्रमण देखिएपछि त्यसको उपचार भइरहेको थियो,’ स्रोतले भन्यो, ‘सोही समस्याका कारण यसअघि पनि उहाँलाई धेरैपटक अस्पताल भर्ना गरिएको थियो । आन्द्राको संक्रमणसँगै पछिल्लो समय उहाँको स्वास्थ्यमा अन्य गम्भीर जटिलता पनि देखिएको थियो ।’

नेपाल मेडिसिटी अस्पतालले औपचारिक रूपमा बिहीबार बिहान उहाँको निधन भएको जानकारी दिएको छ । अस्पतालकी प्रेस संयोजक अनिता श्रेष्ठका अनुसार अम्बिका श्रेष्ठको परिवारले नै अन्य सम्पूर्ण जानकारी दिने बताएका कारण अस्पतालले औपचारिक रूपमा उहाँको मृत्युको कुनै पनि विवरण सार्वजनिक गर्न मिल्ने अवस्था छैन ।

पटना विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक उत्तीर्ण अम्बिकाले सप्तरीमा बडाहाकिम रहनुभएका आफ्ना पति बिरामी भएपछि तीन वर्षमै अमेरिकन लाइब्रेरीको आकर्षक जागिर छाडेर नेपाल आउनुभयो । घरबाहिर निस्कने पहिलो पुस्ताकी महिलामा अम्बिका पर्नुहुन्छ । पतिपत्नी मिलेर उहाँहरूले मुलुककै दोस्रो ट्राभल एजेन्सी काठमाडौँ ट्राभल एन्ड टुर्स खोल्नुभयो । उहाँहरूले नै खोलेको न्युरोडको पारस होटल नेताहरूको जक्सनसमेत थियो, कुनै बेला।

अहिले उहाँकी ठूली छोरी संगीताले द्वारकिाज होटलको नेतृत्व गर्नुभएको छ भने कान्छी छोरी विनीता सपरिवार अमेरिकामा बस्दै आउनुभएको छ । उहाँका १८ वर्षे छोराको भने मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । उहाँले ५० वर्षमा छोरा र ६० वर्षमा पति गुमाएको चोट सहनुपरेको थियो । काठमाडौं उपत्यकाको आर्किटेक्चरलाई पुनर्जागृत गर्दै द्वारिकाज होटलको परिकल्पना गर्नुभएका द्वारिकादास श्रेष्ठको सन् १९९२ फेब्रुअरी १० मा निधन भएको थियो । द्वारिकाज होटल सन् १९७७ मा दर्ता भएको हो । यो नेपालको उत्कृष्ट होटलमा पर्दछ ।

 

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस