२०८१ असोज २५ गते शुक्रवार | 2024 October 11th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुहारीलाई खुशीसाथ कन्यादान

राम अवतार चौधरी, चन्द्रौटा (कपिलवस्तु) । दीपक पौडेल अर्घाखाँची जिल्लाको जलुकेमा २०४७ जेठ ५ जन्मिनुभएको थियो । बुवा घनश्याम पौडेल र आमा जलपा पौडेलको कोखबाट जेठो छोराको रूपमा जन्मिनुभएका दीपक १२ बर्ष हुँदा शिवराज नगरपालिकाको चन्द्रौटामा बसाईसराई भयो । उहाँको चन्द्रौटाकै पुजा पौडेलसँग २०७२ असार १ गते विवाह भयो ।

केहि बर्षपछि एउटा छोरीको जन्म भयो । शिवराज नगरपालिकामा विगत ४ बर्षदेखि आइ.टी. इन्जिनियर भएर उहाँको दैनिकी राम्रै चल्दै थियो । आजभन्दा करिब आठ महिना अगाडि दीपक बिरामी भएको थाहा भयो । चेकजाँच गर्दा उहाँलाई ब्रेन ट्युमर भएको ठहर भयो । यतिबेला उहाँको छोरी ८ बर्ष हुनुभएको छ । दीपकलाई बचाउन उहाँको परिवारले हरेक किसिमका प्रयास गर्दा पनि बचाउन असमर्थ भयो ।

अन्ततः उहाँको २०७८ असोज २७ गते मृत्यु भयो । त्यसपछि समय बित्दै गयो केही समय अघि एकल जीवन विताउनुभएकी पूजालाई पुनः विवाह गर्न घरपरिवार समक्ष प्रस्ताव आयो । सामाजिक परम्परागत परिबन्धले पुनः विवाह कसरी गर्न सकिन्छ भन्ने प्रश्न पनि परिवारमा बहसको बिषय बन्यो । पूजाको ससुरा घनश्यामले बुहरीको रूपमा आएकी पूजालाई सहज रूपमा स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो– “छोराको निधनपछि बुहारीको सामाजिक, मानसिक, शारीरिक लगायत हरेक दृष्टिकोणले सहज रूपमा लिएर परम्परागत मूल्य मान्यतालाई थाती राख्दै बुहारीको पुनः विवाह गर्ने निर्णय हामीले गरेका हौँ ।”

श्रीमानको मृत्युपछि विधुवा भएका महिला आजीवन विधुवा नै बस्ने हिन्दु मान्यता छ । यसै त समाजमा महिला आजीवन विधुवा बस्ने परम्परागत रुढीबाढी चालचलनलाई तोड्दै समाजमा परिवर्तन गर्न श्रीमानको मृत्युपछि विधुवा बस्न बाध्य नहुने गरी विवाह गरिएको छ । महिलाले चाहे अनुसार विवाह गर्न सक्ने स्थानीय सामाजिक अगुवा दिलिप कुमार यादवले बताउनुभयो ।

बुहारीको रूपमा भित्रिएका नारीलाई उहाँहरूको इच्छा विपरीत कार्य गर्न नहुने बताउनुभयो  । हरेक अभिवावकले घरमा ल्याएका बुहारीलाई छोरीको स्थान दिन आवश्यक रहेको उहाँको भनाइ छ । बुहारीलाई माग्न आएको प्रस्तावलाई स्वीकार गर्दै रूपन्देही रानीबगियाका दीपक पौडेलसँग गत असार २ गते चन्द्रौटामै आफ्नै घरमा हिन्दु परम्परा अनुसार विवाह गरी विदाई गरिएको घनश्यामले बताउनुभयो ।

पूजा र दीपक पुनः विवाह पश्चात् जोडी खुशी रहेको पारीवारिक स्रोतले जनाएको छ । श्रीमानको मृत्युपछि विधुवा भएको महिलालाई विवाह गर्ने यो कपिलवस्तुमै तेस्रो विवाह भएको मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ता विष्णु प्रसाद खतिवडाले बताउनुभयो । समय परिवर्तनशील भएका कारण अवस्थानुसारको व्यवस्था हुन आवश्यक रहेको बताउँदै उदाहरणीय कार्य गरेको उहाँले जनाउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस