२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

निजी क्षेत्रलाई प्रधानमन्त्रीको बचन : मनोबल बढाउने नीति ल्याउँछौं

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी ओलीले सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तारविना विकास सम्भव नभएको भन्दै उद्यमी व्यवसायीलाई सहज हुने नीति लिइने बताउनुभयो । महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्य सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने बताउनुभएको हो ।

भेटमा मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेकोतर्फ अध्यक्ष चन्द्रप्रसाद ढकालले ध्यानाकर्षण गराउनुभयो । मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले जानकारी गराउनुभयो । सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रूपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत् लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो ।

निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गर्नेलगायतका गैर मौद्रिक प्रोत्साहन सरकारले दिन सक्ने अध्यक्ष ढकालको अपेक्षा छ । अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै उहाँले वाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको पनि बताउनुभयो ।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै पनि प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिनुभयो । अहिले अर्थतन्त्र सम्वद्ध निकायबीचमा समन्वयको अभाव रहेको भन्दै अर्थतन्त्रमा सुधारका लागि प्रधानमन्त्री नेतृत्वमा निजी क्षेत्र सम्मिलित आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको ढकालले बताउनुभयो । निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रक लाइन सम्बन्धि विवाद तत्काल समाधान गरी उद्यमी व्यवसायीलाई निर्वाध र सहज रूपमा काम गर्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पनि अध्यक्ष ढकालले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस