२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेनुका पौडेल लगायतलाई देखाउँदै प्रधानमन्त्रीले भन्नुभयो, नेपाल प्रतिभाहरु भएको देश हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गीत, संगीतलगायतका प्रतिभाहरु भएको देश भएको बताउनुभएको छ । छिन्नतला गीत पुरस्कार गुठीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले उक्त धारणा राख्नुभएको हो ।

भारतीय चर्चित रियालिटी शो इण्डियन आईडलबाट नाम कमाउन सफल मेनुका पौडेलको दृष्टान्त पेस गर्दै प्रधानमन्त्री ओलीले कला, संस्कृति, संगीत, बाद्यवादन, गायनको विकास गर्ने ठाउँ नेपाल भएको पनि उल्लेख गर्नुभयो । त्यस अवसरमा उहाँले नेपाल विभिन्न विधाको प्रतिभाहरु रहेको ठाउँ भएको र उहाँहरुलाई खोजीखोजी सम्मान गर्ने काम गरेको भन्दै सो गुठीको प्रशंसा पनि गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘कला, संस्कृति, संगीत, बाद्यवादन, गायन । यी सबै कुरामा यो ठाउँ त्यसलाई बुझ्न पनि जान्ने, चिन्न पनि जान्ने र त्यसलाई प्रस्फुटित गर्न जान्ने, त्यसलाई विकास गर्नसक्ने यो ठाउँ हो । आज हामी यस ठाउँका यिनै कलाकारहरुको सम्मान गरिरहेका छौं । हाम्रो अगाडि कलाकार हुनुहुन्छ मेनुका पौडेल । उहाँ नेत्रविहीनको स्थितिमा हुनुहुन्छ । तर, उहाँले नेपालमा मात्र होइन, विदेशमा समेत गाएर तहल्का मच्चाउनु भएको छ । यो यस्तो प्रतिभाको ठाउँ हो, प्रधानमन्त्री ओलीले भन्नुभयो, संगीतमा संकेत चिह्नहरु उहाँले देख्न सक्नुहुन्न । तर देख्न पर्दैन उहाँलाई । त्यसको कहाँनिर कस्तो धुन छ भन्नेकुरा थाहा छ । त्यसो भएर यो प्रतिभाहरुको देश हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता पुरस्कार गीतकार भुषण खरेललाई प्रदान गर्नुभएको थियो । त्यसैगरी उहाँले संगीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई पुरस्कार प्रदान गर्नुभयो । प्रधानमन्त्री ओलीले २०८० सालको छिन्नलता पुरस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भूपू पाण्डेलाई पुरस्कार प्रदान गर्नुभयो । छिन्नलता गीत, संगीत र गायनको पुरस्कारको राशि जनही एक लाख रहेको छ । तस्वीर / दिनेश भण्डारी, प्रधानमन्त्रीका नीजि फोटोग्राफर

 

प्रकाशित मिति : २०८१ साउन २ गते बुधवार
प्रतिक्रिया दिनुहोस