२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

देशभर ४२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा

असार ३०, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार हालसम्म देशभर ४२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ  । १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमध्ये पाँच लाख ९५ हजार १२९ हेक्टर ४२.६ प्रतिशतमा रोपाइँ सम्पन्न भएको कृषि मन्त्रालयले जनाएको छ ।

हालसम्म सबभन्दा बढी रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ भने सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । कृषि विभागका प्रवक्ता डा अरुण काफ्लेका अनुसार सुदूरपश्चिम प्रदेशमा एक लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ । त्यसमध्ये हालसम्म एक लाख ५० हजार ६२ हेक्टरमा ८६.२ प्रतिशत रोपाइँ भइसकेको छ ।

कृषि मन्त्रालयका तथ्याङ्क अनुसार मधेश प्रदेशमा तीन लाख ८३ हजार १५० हेक्टरमा धान खेती हुन्छ त्यसमध्ये ९७ हजार ८५१ हेक्टर क्षेत्रफलमा अर्थात् २५.५ प्रतिशत रोपाइँ मात्र भएको छ । यस्तै कोशी प्रदेशमा हालसम्म ९५ हजार १७० हेक्टर ३४.४ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । त्यहाँ दुई लाख ७६ हजार ३८६ हेक्टरमा रोपाइँ हुने गरेको छ ।

बागमती प्रदेशमा ४६ हजार ४४ हेक्टर अर्थात् ४०.२ प्रतिशतमा रोपाइँ भएको छ । त्यहाँ एक लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । त्यस्तै गण्डकी प्रदेशमा हालसम्म ४७ हजार ७३३ हेक्टर अर्थात् ४९।७ प्रतिशत रोपाइँ भएको छ । सो प्रदेश ९६ हजार ५३ हेक्टरमा रोपाइँ हुने गरेको छ ।

यसै गरी लुम्बिनी प्रदेशमा एक लाख ३८ हजार ३६४ हेक्टरमा ४४.४ प्रतिशत धान रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा तीन लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाइँ हुने गरेको छ । कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाइँ हुने अनुमान गरिएकोमा हालसम्म १९ हजार ९०४ हेक्टर ४७.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोमा यो समयसम्म छ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । कृषि मन्त्रालयका अनुसार देशभर १३ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस