२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विपद्का घटना बढ्यो : बाढीपहिरोबाट देशभर ८३ जनाको मृत्यु, १०६ घाइते

२६ असार, काठमाण्डौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर यसवर्ष हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि बुधबार बिहानसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ८३ जनाको मृत्यु भएको हो । जसमा ३३ पुरुष र २५ महिला, २५ बालबालिका रहेका प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक डिआईजीपी दानबहादुर कार्कीले जानकारी दिए ।

जेठ २८ देखि बुधबार बिहानसम्म बाढीपहिरोमा परेर १०६ जना घाइते र पाँच जना बेपत्ता भएको प्रवक्ता कार्कीले जानकारी दिए । घाइते हुनेमा ५१ पुरुष, ३६ महिला, १९ बालबालिका रहेका छन् । घाइतेको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेपत्ता हुनेमा दुई पुरुष र तीन महिला छन् ।

बाढीपहिरोका कारण तीन सय ८४ पशु चौपायको क्षति भएको छ । एक सय ३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरी प्रवक्ता कार्कीले बताए । वर्षा पहिरोका कारण आठ सय ५८ घर विस्तापित भएका छन् । बाढीपहिरोमा परेकाको उद्धारका लागि हालसम्म पाँच हजार चार सय २८ प्रहरी परिचालन गरिएको छ ।

मुलुकको विभिन्न भागमा परेको अविरल वर्षाका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेको र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

अविरल वर्षाका कारण देशभर एक हजार एक सय १७ घटना घटेको र जसका कारण दुई हजार नौ सय ५४ घरपरिवार विस्तापित भएको प्रहरी प्रवक्ता कार्कीले बताए । घटनामा १० करोड ७० लाख ४० हजार नौ सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस