१९ असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री डा मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेश गर्न तयार गरेको प्रस्तावमा सभापति रवि लामिछानेलाई बोलेका कुरा कहिले पुरा गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
सो प्रस्ताव केन्द्रीय समितिमा सभापति लामिछानेले पेश गर्न नदिएको आरोप उनले लगाएका छन् । साथै उनले सभापतिले बोलेका कुराहरुको रेकर्ड राख्न उपसमिति गठन गर्न समेत माग गरेका छन् । उनले सभापतिले बोलेका कुराहरुको अभिलेख राखेर जवाफ माग्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्–
सभापति ज्यू, तपाईंले बोलेका सबैको कुराको रेकर्ड राखेर उत्तर दिन पर्यो । राजनीतिमा आएपछि बोलेका सबै कुराहरू । यहि केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔं, ती बोलिहरुको अभिलेखिकरणका लागि । अरुले बोलेका कुराहरू मलाई मतलव छैन, मलाई तपाईंले बोलेका कुराहरु मतलव छन् । हिजो किन बोल्नु भयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछि मात्र बोल्नु होला ।