२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गुल्मी, स्याङ्जा र बागलुङ पहिरो : एकै घरका पाँचसहित नौं जनाको मृत्यु

१५ असार , काठमाडौँ । आज एकै दिन पहिरोका कारण तीन जिल्लामा नौं जनाको ज्यान गएको छ । गुल्मी, स्याङ्जा र बागलुङमा गरी नौं जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् ।

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका पाँच जनाको मृत्यु भएको छ । गए राति पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर विकको घर पहिरोले पुरिँदा उनीसहित श्रीमती सुन्तली, बुहारी सीता, नातिनी विपना र सपना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलका अनुसार पहिरोमा पुरिएर बेपत्ता भएका पाँचै जनाको शव प्रहरी र स्थानीयको सहयोगमा निकालिएको छ । घटनापछि सदरमुकाम तम्घासबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारका लागि घटनास्थलमा गएको थियो ।

यस्तै बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु भएको छ । बुहारी र नाति घाइते भएका छन् । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

गए राति ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । यस्तै स्याङ्जामा घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको घट्नास्थलमा रहेका प्रहरी सहायक निरीक्षक अमृत भुजेलले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ असार १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस