असार १०,काठमाण्डौँ । अमेरिकालाई हराउँदै इङ्ल्यान्ड आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।
अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इङ्ल्यान्डले नौ ओभर चार बलमै कुनै विकेट नगुमाई भेटायो । इङ्ल्यान्डको जितमा कप्तान जस बटलरले अविजित ८३ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १८ ओभर पाँच बलमा एक सय १५ रनमा अल आउट भयो । अमेरिकाका नितिश कुमारले सर्वाधिक ३० रन बनाए । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले चार विकेट लिए ।
जीतपछि सुपर आठको समूह दुई मा तीन खेलबाट चार अङ्कसँगै इङ्ल्यान्ड अन्तिम चारमा पुगेको छ । समान दुई खेलमा दक्षिण अफ्रिकाको चार र वेस्ट इन्डिजको दुई अङ्क छ । अमेरिका भने अङ्कबिहीन हुँदै बाहिरिएको छ ।
अहिले दक्षिण अफ्रिका र वेस्ट इन्डिज बीच खेल भइरहेको छ । आजको खेल जित्ने टोली यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोली बन्ने छ । टी–२० विश्वकपमा आजै राति सवा ८ बजे अस्ट्रेलिया र इन्डिया पनि खेल्दैछन् ।