असार ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको चेतावनी दिँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा र लुम्बिनी प्रदेशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा देशका बाँकी भागमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको बताएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले आज बिहान ६स्०० बजे प्रकाशन गरेको मौसम ‘बुलेटिन’मा जनाएको छ ।