२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विकास बजेट सबैभन्दा धेरै झापा, रोल्पा, डोल्पा र गोरखामा, कुन–कुन नेताको लाग्यो कृपा

काठमाडौं । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१र८२ का लागि ६३ अर्ब १७ करोड रुपैयाँ पूँजीगत (विकास) बजेट पाएको छ । यो बजेटको ठूलो हिस्सा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र शहरी विकास मन्त्री धनबहादुर बुढाको निर्वाचन क्षेत्र र एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा विनियोजन भएको पाइएको छ ।

आयोजनाको प्राथमिकीकरण नगरी गोरखा, रोल्पा, डोल्पा, झापालगायत जिल्ला र निर्वाचन क्षेत्रमा शहरी विकास आयोजनाको बजेट खन्याइएको छ । विगतका वर्षमा राजधानी काठमाडौं, प्रधानमन्त्री प्रचण्डको गृह जिल्ला चितवन र पूर्व प्रधानमन्त्री ओलीको गृह जिल्ला झापा शहरी विकास मन्त्रालयबाट धेरै बजेट पाउने सूचीमा अगाडि थिए । चालु र क्रमागत आयोजनाको बजेट पनि यी जिल्लामा बढी जाने गरेका थिए । धेरैवटा निर्वाचन क्षेत्र भएको र संघीय सरकारमा प्रभाव राख्ने धेरै नेताहरु हुँदा मोरङ, रुपन्देही, धनुषा लगायतका जिल्लाले पनि शहरी विकासबाट बढी बजेट पाउने गरेकै थिए ।

आगामी आर्थिक वर्षका लागि झापामा शहरी विकास मन्त्रालयबाट करिब २२१ वटा कार्यक्रमका लागि झण्डै ३ अर्ब रुपैयाँभन्दा बढी बजेट गएको छ । शहरी शासकीय क्षमता विकास कार्यक्रममार्फत दमक नगरपालिकाले ३२ करोड ३२ लाख, बिर्तामोड नगरपालिकाले २८ करोड २६ लाख र मेचीनगर नगरपालिकाले ७० करोड रुपैयाँ शहरी अनुदान पाएका छन् । त्यसबाहेक धेरै निर्वाचन क्षेत्र समेत रहेको र सभामुख देवराज घिमिरे, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, नेता कृष्णप्रसाद सिटौला, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समेत झापाबाट नै निर्वाचित भएकाले उनीहरुको रोजाइका योजनाहरु पनि समेटिंदा झापामा शहरी विकासको ठूलो बजेट जाने गरेको छ ।

यसपटक भने रोल्पा, डोल्पा र गोरखामा सहरी विकास मन्त्रालयबाट थुप्रै बजेट र कार्यक्रम पुगेका छन् । शहरी विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रमअनुसार आगामी वर्षको पूँजीगत बजेटमध्ये करिब २ अर्ब २३ करोड रुपैयाँ अर्थमन्त्री पुनको गृह जिल्ला रोल्पाका १५२ वटा योजनामा विनियोजन गरिएको छ । शहरी विकासको बजेट पाउने जिल्लामा रोल्पापछि डोल्पा रहेको छ । डोल्पा शहरी विकास मन्त्री धनबहादुर बुढाको गृह जिल्ला हो । यो वर्ष डोल्पाले शहरी विकास मन्त्रालयबाट मात्रै करिब १ अर्ब ७० करोड बजेट पाएको छ । आफू निर्वाचित भएर आएको डोल्पामा मन्त्री बुढाले यो वर्ष आफ्नो मन्त्रालयबाट करिब २०८ वटा कार्यक्रम हालेका छन् ।

डोल्पाभन्दा पछाडि गोरखा जिल्ला छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र समेत रहेको गोरखामा शहरी विकासका करिब १२० कार्यक्रम परेका छन् । यी कार्यक्रमका लागि शहरी विकास मन्त्रालयबाट १ अर्ब २५ करोड रुपैयाँ विनियोजन भएको छ ।

 

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस