२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रहरी जवानले संसद भवनभित्र आफैंलाई गोली प्रहार गर्नुको कारण खुल्यो

काठमाडौं । संसद भवनभित्र बुधबार बिहान आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान अजित गोले पछिल्लो समय प्रेम सम्बन्धका कारण तनावमा रहेको अनुसन्धान अधिकारीहरुले प्रारम्भिक निष्कर्ष निकालेका छन् । संसद भवनको सुरक्षार्थ खटिएका २२ वर्षीय अजित मंगलबार साँझ प्रेमिकासँग बोलिरहँदा तनावमा देखिएको उनका साथीहरुले अनुसन्धान अधिकारीलाई बताएका छन् ।

बुधबार बिहान करिब ८ बजे संसद भवनको दुई नम्बर गेट नजिकै रहेको शौचालय पुगेर अजितले इन्सास राइफलले निधारतर्फ गोली प्रहार गरेर आत्महत्या गरेका थिए । गोली पड्किएको आवाज सुनिएलगत्तै प्रहरी शौचालय पुगे पनि उनको मृत्यु भइसकेको थियो । गोले बिहान ६ देखि १० बजेसम्म दुई नम्बर गेटको सुरक्षाका लागि ड्युटीमा थिए । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार घटना हुँदा उनले एक युवतीसँग भिडियो कल गरिरहेका थिए ।

‘मोबाइल ठाडो पारेर भित्तामा अड्याएको देखिन्छ’, ती अनुसन्धान अधिकारीले भने । अजितकी प्रेमिका करिब ५ महिनाअघि दुबई गएको पाइएको छ । दोलखाको मैलुङ घर भएका अजित ती युवतीसँग विवाह गर्ने निर्णयमा पुगिसकेका थिए । ‘तर पछिल्लो समय दुई जनाबीच सम्बन्ध राम्रो भएको देखिँदैन । अजितले मर्छु भन्दै युवतीलाई धम्की पनि दिने गरेका रहेछन्’, स्रोत भन्छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले अजितको मोबाइल डीएफएलमा पठाइएको बताए । ‘मोबाइल परीक्षणपछि केही भन्न सकिएला’, एसपी अधिकारीले भने । काठमाडौंको थलीमा बस्दै आएका अजित २०७८ सालमा प्रहरी सेवामा भर्ना भएका थिए । उनी विशेष कार्यदलमा दरबन्दी भएर संघीय संसद भवनको सुरक्षार्थ खटिएका थिए ।

संघीय संसद भवनको सुरक्षा प्रहरीको विशेष कार्यदलले गर्छ । मृतक अजितको शव पोस्ट मार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस