२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महासेठलाई सूर्य थापाको आग्रह : स्वर्गद्वारी आएर सद्‌बुद्धि प्राप्त गर्नुस्

४ असार, काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले ६३ वर्षअघि सुरु गरिएको भालुबाङ–प्यूठान सडकमा बजेट नछुट्याइएको भन्दै आपत्ति जनाएका छन् । उनले अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीलाई भेटेर जानकारी गराउँदासमेत उक्त योजनामा बजेट नदिइएको भन्दै विरोध जनाए ।

मंगलबार प्रतिनिधि सभामा भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथिको छलफलमा रोल्पामा शहीदमार्ग लगायतका विभिन्न सडकमा १० अर्ब बजेट जाँदा भालुबाङ–चकचके सडकमा १६ करोड माग्दा पनि नदिइएको बताए । ‘शहीद मार्गमा के केमा रोल्पातिर १० अर्ब बजेट जाँदा मैले धेरै मागेको थिइनँ, १६ करोड र बहुवर्षीय गर्दा ४ वर्षमा ८४ करोडमा त्यो दुई लेन बन्छ’, उनले भने, ‘६३ वर्षदेखि थालनी भएको मोटरबाटो, हाम्रो बाबुले, बाजेले श्रमदान गरे, मभन्दा दुई वर्ष जेठी दिदीले श्रमदान गरेको म सम्झिन्छु त्यो बाटोका लागि १६ करोड चाहिँ हामीले भिख मागेका थियौं ?’

रघुवीर महासेठ भौतिक पूर्वाधारमन्त्री र वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री भएका बेला २०७६ जेठ ६ गते भालुबाङ–चकचके–लिबाङ–माडीचौर–दारबोट सडकलाई राष्ट्रिय राजमार्गबाट कटौती गरिएको थापाले बताए । यो कुरा थाहा पाएपछि आफूले दुवै मन्त्रीलाई जानकारी गराएको तर नसच्याएको उनले बताए । ‘नेशनल हाइवे ५३ संकेत नम्बर, त्यो पूर्वाग्रहपूर्ण छ, प्युठानी जनताको भावना विपरीत छ । वाहियात छ, त्यो सच्याइयोस्’, थापाले भने ।

अहिले पनि भौतिक पूर्वाधारमन्त्री रहेका महासेठलाई सम्बोधन गर्दै थापाले भूगोल थाहा नभए एकपटक स्थलगत अनुगमनका लागि जान आग्रह गरे । ‘योजनाको बारेमा स्थलगत जानकारी छैन भने स्वर्गद्वारी आश्रम घुम्न निम्तो गर्छु, स्वर्गद्वारी आश्रम आउनुस्, र त्यहाँबाट सद्‌बुद्धि प्राप्त गर्नुस् र त्यो कटौती भएको जुन नेशनल हाइवेवाला, जुन पक्षपातपूर्ण काम गर्नुभएको छ त्यो सच्याउनुस्’, उनले भने ।

 

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस