२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुन तस्करीमा डिजिटल वालेट : १ अर्ब २० करोड कारोबार गर्ने एजेन्ट बाराबाट पक्राउ

३ असार, काठमाडौं । सुन तस्करी र हुण्डीको कारोबारमा जोडिएको आरोपमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सोमबार बाराबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादव छन् ।

यादवले एक वर्षको अवधिमा १ अर्ब २० करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार गरेको सीआईबी स्रोतले जनाएको छ । उनले पेवेलमार्फत १ अर्ब १७ करोड ३२ लाख र सजिलो पेमार्फत् ३ करोड ३८ लाखको कारोबार गरेको सीआईबीले जनाएको छ । उनी पेवेल र सजिलो भुक्तानी सेवाका बारास्थित एजेन्ट हुन् । उनी पक्राउ परेसँगै पेवेल र सजिलो पेका सञ्चालक, कर्मचारी र एजेन्ट गरी पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

यसअघि पेवेलका एजेन्ट बुटवलस्थित जेके मनी ट्रान्सफरका सञ्चालक लालबहादुर कुँवर पक्राउ परेका थिए । उनले एक वर्षको अवधिमा ३ अर्ब ३४ करोडको कारोबार गरेको भेटिएको थियो । हेर्दा सामान्य देखिने र वैध कारोबार पनि न्यून रहेको उक्त मनी ट्रान्सफरले एक वर्ष अवधिमा झण्डै साढे ३ अर्बको कारोबार गरेको पाइएपछि सीआईबीले उनलाई पक्राउ गरेको थियो ।

त्यसअघि सीआईबीले एकै दिन सजिलो पेवेलका दुई वटा भुक्तानी सेवाका ६ जनालाई पक्राउ गरेको थियो । २५ जेठमा सीआईबीले पेवेलका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, सहायक कार्यकारी अधिकृत प्रज्वल आचार्य र सञ्चालक समिति सदस्य सुरज शमशेर जबरालाई पक्राउ गरेको थियो । पेवेलका सीईओ सतेन्द्र श्रेष्ठ फरार छन् ।

सोही दिन सजिलो पेका सञ्चालक सुशील जाकीबञ्जा, कार्यकारी प्रमुख अधिकृत कश्यप मानन्धर र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा पक्राउ परेका थिए । सीआईबीको अनुसन्धानका क्रममा पेवेलले २७ अप्रिल २०२३ देखि हालसम्म करिब एक वर्ष अवधिमा ८२ अर्बको कारोबार गरेको फेला परेको छ । जसमा ६१ अर्ब ५० करोड रुपैयाँ नगद जम्मा भएको छ । जसमध्ये १ अर्बको त भौचर नै भेटिएको छ । कनेक्ट आईपीएसमार्फत ४ अर्बको कारोबार भएको छ ।

पेवेलको नेपालमा १९ सय एजेन्ट छन् । ती मध्ये २० एजेन्टले तस्करीको सुन खरिद बापतको भुक्तानी अवैध तरिकाले पेवेलको खातामा सोझै जम्मा गरेर एजेन्टमार्फत कारोबार गरेको देखाएको सीआईबीको भनाइ छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगको प्रतिवेदन अनुसार अहिले सीआईबीले ६० किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान गरिरहेको छ ।

जसक्रममा सुन तस्करीमा संलग्न भएको आरोपमा १३ जना र तस्करीको सुनको भुक्तानी र हुण्डीमा जोडिएको आरोपमा सजिलो र पेवलका सञ्चालक तथा कर्मचारी गरेर ७ जना पक्राउ गरेका छन् । सुन र हुण्डीको अवैध कारोबार गरेको भेटिएपछि नेपाल राष्ट्र बैंकले पेवेल र सजिलो पेको कारोबार २१ जेठमै रोक्का गरेको छ । उनीहरूमाथि सीआईबीले हुण्डी, सुन तस्करी, तथा क्रिप्टोसँग जोडेर राष्ट्र बैंक ऐन अन्तर्गतको कसुर, भन्सार छली तथा चोरीपैठारी र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस