२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘नरहे बाँस, नबजे बाँसुरी’ प्रवृत्ति अस्वीकार गर्दै प्रतिरोधमा उत्रिन प्रेस चौतारीको अपिल

काठमाडौं । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनबाट निर्वाचनका लागि निर्धारित आज (२६ जेठ) मा निर्वाचन नगराइएकोे प्रति आपत्ति जनाएको छ । महासंघ नेतृत्वले ‘मतदाता नामावाली विवाद’ देखाएर निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगन गर्दा निर्वाचन अनिश्चित मात्रै होइन कानूनी रिक्तता र वैधानिकताको पनि गम्भीर प्रश्न उठेको छ । नेपाली श्रमजीवि पत्रकारहरुको मात्रै नभएर आम नागरिकहरुको पनि भरोसा योग्य संगठनको गरिमा र गौरवलाई कमजोर बनाउने गरी वर्तमान नेतृत्वको यसप्रकारको बदनियतपूर्ण कार्यको भर्त्सना गरेको छ ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा, श्रमजीवी पत्रकारहरुको पेशागत हक, श्रम अधिकारको संरक्षण, सूचनाको हक रक्षा र व्यावसायिक पत्रकारिताको सम्र्बद्धनमा गौरवमय इतिहास बनाएको अविछिच्न उत्ताधिकारीवाला संस्था यो अवस्थामा आइपुग्नु बिडम्बनापूर्ण हो ’, चौतारीका अध्यक्ष गणेश बस्नेतद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘महासंघको साधरणसभा, महाधिवेशन र मतदानको लागि यसअघि नै विधान, नियमावली निर्माण गरेर त्यसको आधारमा समयअवधि तोकेर अभ्यास गर्दै आएको छ तर वर्तमान नेतृत्वले आफ्नो कार्यकाल २५ चैत २०८० पुरा भएको दुई महिना बितिसक्दा पनि विवाको बहना बनाएर नेतृत्व हस्तान्तरण प्रक्रियामा उदासीनता देखाउँदा नियतमा नै गम्भीर संशय पैदा भएको छ । आफ्नो कार्यकाल लम्बाउने बदनियतपूर्ण बाटोतर्फ वर्तमान नेतृत्व उन्मुख भएकोप्रति हामी आपत्ति प्रकट गर्दछौं ।’’

महासंघका सदस्यलाई शुद्धिकरण गर्दै महासंघलाई व्यावसायिक तथा श्रमजीवि पत्रकारहरुको साझा संगठनको रुपमा विकासका लागि प्रतिबद्ध रहेर चौतारीले असाध्यै जिम्मेवारी ढंगले नेतृत्वदायी पहल गर्दै आएको जनाउँदै चौतारीको विज्ञप्तिमा वर्तमान नेतृत्वले महासंघको सुर्खेत (८–९ पुस २०७९) साधारणसभाबाट गरिएको सर्वसम्मत निर्णय, १५ बुँदे मापदण्ड विपरित सदस्यता मनमौजी तरिकाले थपघट गर्दा यो अवस्था उत्पन्न भएको छ उल्लेख गरिएको छ ।

‘महासंघलाई व्यावसायिक तथा श्रमजीवी पत्रकारहरुको भरपर्दो र गरिमामय संस्थाको रुपमा विकास गर्ने सहमति र मान्यताबाट बिचलित भई आग्रह र पूर्वाग्रहको आधारमा सदस्यता थपघट गर्ने वर्तमान नेतृत्वको बिडम्बनापूर्ण प्रयासको नतिजा हो यो’, अध्यक्ष बस्नेतले जारी गरेको विज्ञप्तिमा भनिएको छ । समयमा निर्वाचन हुन नसक्नुको सम्पूर्ण नैतिक जिम्मेवारी महासंघको मूल लिदै यसअघिका निर्णय अनुरुप सदस्यता विवाद निरुपण गरेर तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन चौतारीले माग गरेको छ । ‘अन्यथा, नेपाल पत्रकार महासंघको गरिमा रक्षा, गौरवममय विरासतको निरन्तरता र श्रमजीवी पत्रकारहरुको हितरक्षाको निम्ती गोलबन्द भइरहेका श्रमजीवि पत्रकारहरुलाई साथमा लिएर चौतारीले आवश्यक वैधानिक कदम चाल्ने चेतावनी समेत दिन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ ।

भरपर्दो नागरिक संगठनको रुपमा स्थापित श्रमजीवी पत्रकारहरुकोको साझा तथा गौरवमयी संगठनलाई कानूनी तथा वैधानिक रिक्तता उत्पन्न गराएर कमजोर बनाउने सबै प्रकारका षड्यन्त्रप्रति उत्तिकै जानकार रहेको चौतारीको भनाइ छ । आफ्नो स्वार्थ अनुकूल नहुँदा महासंघको मुल नेतृत्वलाई प्रभावित गरी महासंघको गरिमा र गौरवलाई नै क्षति गर्नेगरी ‘नरहे बाँस, नबजे बाँसुरी’ शैलीमा उत्रिएका प्रवृत्तिलाई अस्वीकार गर्दै प्रतिरोधमा उत्रिन तमाम श्रमजीवि पत्रकारहरुलाई अपिल चौतारी नेतृत्वले आग्रह पनि गरेको ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस