२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

६० किलो सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ

१८ जेठ, काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीया लामालाई केन्द्रीय अुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । लामालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको सीआईबी स्रोतले पुष्टि गरेको छ ।

कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । उनलाई सीआईबीले लाजिम्पाटबाट पक्राउ गरेको हो । पूर्वन्याायधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । जसक्रममा लामाको भूमिका शंकास्पद देखिएपछि लाजिम्पाटबाट पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनबहादुर गुरुङ समेत संलग्न देखिएको भन्दै सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

२१ मंसिरमा फ्लाई दुबईको विमानमार्फत ल्याइएको १४ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा गुरुङ पक्राउ परेका थिए । गुरुङविरुद्ध विमानस्थल भन्सार कार्यालयले १ अर्ब ४० करोड रुपैयाँ बिगो र ५ वर्षको कैद सजाय माग्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । डिल्लीबजारमा रहेको प्लाटिनम कलेजका अध्यक्ष समेत रहेका गुरुङलाई ५ चैतमा १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी रिहा भएका थिए । त्यसपछि ६० किलोभन्दा बढी सुन तस्करीमा संलग्न देखिएपछि सीआईबीले अनुसन्धान अघि बढाउँदा उनी फरार भइसकेका थिए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस