२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फोनले परराष्ट्रका कर्मचारी हैरान भएपछिको प्रक्रियाले काम गर्यो, दूतावासले सन्दीपलाई बोलायो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको फोनका कारण पछिल्ला केही दिनयता परराष्ट्र मन्त्रालयका कर्मचारी हैरान भएका थिए । यही जेठ ९ गते काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । राष्ट्रिय टिमबाट आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका जान उनले भिसाका निम्ति दूतावासमा आवेदन दिएका थिए । भिसा ‘रिजेक्ट’पछि दूतावासमाथि दबाब दिन उनले बारम्बार परराष्ट्रमन्त्रीदेखि मन्त्रालयका कर्मचारीलाई फोन गर्ने गरेका छन् । सन्दीप मात्र हैन सरोकारवाला निकाय सबैले उनीहरुलाई फोन गरेका छन् । आमसञ्चार र चासो राख्ने व्यक्तिले समेत मन्त्रालयका फोनमा घण्टी बजाए । यसले मन्त्रालय नै कोलाहाल बनेको थियो । यो त्रास बढेपछि भिसा नोट नपठाउने अडानमा रहेको मन्त्रालयले सन्दीपको भिसाका लागि आवश्यक कागजात दियो ।

परराष्ट्र मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार, सन्दीपले फोन गरेपछि भिसामा सहजीकरण गरिदिन परराष्ट्रले दूतावासमा अनुरोध गरेको छ । उक्त प्रयासपछि आज नै चार बजे पुनः अन्तर्वार्ताको लागि अमेरिकी दूतावासले सन्दीपलाई बोलाएको छ । तर, यसै भन्न सकिन्न । स्पष्ट रूपमा अमेरिकी दूतावासले केही भनेको छैन,” परराष्ट्रका ती कर्मचारीले भने । आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गरेका छन् । आउँदो जुन २ देखि २९ सम्म विश्वकप हुँदै छ । विश्वकप खेल्न नेपाली राष्ट्रिय टिम अमेरिका पुगिसकेको छ ।

बलात्कारको आरोपमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेपछि सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो । केही दिनअघि उच्च अदालत पाटनले सन्दीपका विषयमा जिल्ला अदालतले गरेको फैसला बदर गर्‍यो । त्यसपछि क्यानले उनलाई पुनः टिममा समावेश गर्ने प्रक्रिया अघि बढाएको थियो । राष्ट्रिय टिममा पर्ने भएपछि सन्दीपले अमेरिका जान दूतावासमा भिसाका निम्ति आवेदन दिएका थिए । तर, दूतावासले उनलाई भिसा दिन अस्वीकार गरेको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस