२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीपलाई भेट्न खेलकुद मन्त्री र पारस खड्का त्रिवि मैदानमै पुगे, दूतावासले सन्दीपलाई बोलायो

Sandeep Lamichhane TU

काठमाडौं । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कीर्तिपुरस्थित क्रिकेट रंगशालामा निरीक्षणका लागि पुगेका छन् । मन्त्री श्रेष्ठसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का पनि उपस्थित थिए ।

मन्त्री श्रेष्ठ त्यहाँ पुग्दा क्रिकेटर सन्दीप लामिछाने पनि त्रिवि मैदानमा थिए । लामिछानेसँग भेटेर उनले आशावादी रहन आग्रह गरे । स्रोतका अनुसार मैदान अनुगमन एक संयोग मात्र हो । उनी सन्दीपलाई मैदानमै भेटेर आश्वासन दिन पुगेका थिए । बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएसँगै लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने क्यानको तयारी थियो । तर, अमेरिकाले भिसा नदिँदा सन्दीप अमेरिका जान पाएका थिएनन् । आजै अमेरिकाले सन्दीपलाई दूतावास बोलाएको छ । भिसा दिन बोलाएको अनुमान गरिएको छ । चार बजे दूतावास आउनुहोस् है भन्दै फोन आएको सन्दीप निकट स्रोतले भन्यो ।

‘सरकार यस विषयमा निकै चिन्तित छ । परराष्ट्रमन्त्रीज्यूले मेरै अगाडि भिसाको सहजीकरणका लागि पत्र लेख्नुभएको हो,’ मन्त्री श्रेष्ठले भने, ‘अब भिसा स्वीकृत नभएपछि यसको कूटनीतिक प्रक्रिया कसरी अगाडि बढाउने भन्ने छ । यसका लागि सरकारले आवश्यक पहल गरेको छ,’ मन्त्री श्रेष्ठको भनाई थियो । उनले आशावादी रहनु आज गूड न्यूज आउनसक्छ भनेका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस