२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जेलबाट छुट्नासाथ अध्यक्ष सिरोहियाको चेतवानी, अब म उनीहरुलाई छोड्दिन

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले हिरासतबाट छुट्नासाथ कडा चेतवानी दिएका छन् । स्मरण रहोस् उनी स्वास्थ्य जटिलता देखाएर परिवारको जिम्मामा हाजिर जवानीमा रिहा भएका हुन् । रिहा हुनासाथ उनले राज्य शक्तिको चरम दुरुपयोगबीच आफ्ना विरुद्ध गरिएको प्रपञ्च समाप्त भएको उद्घोष गरेका छन् । ९ दिन पछि रिहा भएका अध्यक्ष सिरोहियाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना विरुद्ध भएको षड्यन्त्रको कानूनी उपचारको बाटो खोज्ने पनि उद्घोष गरेका छन् ।

नेपाली प्रेस जगत्‌ले आफूप्रति देखाएको ऐतिहासिक ऐक्यबद्धताका सामु आफू नतमस्तक रहेको पनि बताउँदै थप अनुसन्धानमा सहयोग गर्न सम्पूर्ण रूपमा तयार रहेको उनले बताएका छन् । ‘मलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका रहेन,’ उनले भनेका छन्, ‘प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानूनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु ।’

उनले आफूलाई गैरनेपाली रहेको, आफूसँग दुई–तीन थरी नागरिकता रहेको र नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता तथ्यहीन हल्ला फैलाउनेहरूलाई उनीहरुको दाबी प्रमाणित गर्न पनि अध्यक्ष सिरोहियाले सार्वजनिक चुनौती दिएका छन् । ‘तर, आफ्नो दाबी प्रमाणित गर्न नसक्ने व्यक्ति तथा समूहविरुद्ध कानूनी उपचार खोज्ने अधिकार पनि मसँग सुरक्षित राखेको जानकारी गराउन चाहन्छु,’ अध्यक्ष सरोहियाले भनेका छन् ।

अध्यक्ष सिरोहियाले आफूलाई पक्राउ गरिएपछि पनि सरकारी कागजपत्र भिडाउन, सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्न तथा फरेन्सिक परीक्षण गर्न आफ्ना पक्षका वकिलहरूले पटक–पटक आग्रह गर्दा पनि आलटाल भएको बताएका छन् । ‘आरोपी पक्षले अनुसन्धानका लागि ताकेता गर्ने र प्रहरी प्रशासनले ढिलाइ गर्ने यस्तो प्रवृत्ति वास्तवमा कानूनी शासनका लागि चुनौती हो,’ उनले भनेका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई नागरिकता कसुरको अभियोगमा पक्राउ गरी विगत ९ दिनदेखि थुनामा राखिएकामा आज हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयसमेतको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले फौजदारी कार्यविधि संहिताको दफा १५ (१) अनुसार ‘थप अनुसन्धानका लागि थुनामा राखिरहन नपर्ने’ भन्दै रिहा गरेको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस