२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतमा आज दिउँसो अहिलेसम्मकै बढी गर्मी, ५२ दशमलव ३ डिग्री मापन

काठमाडौं । भारतमा आज दिउँसो अहिलेसम्मकै बढी गर्मी मापन गरिएको छ । दिल्लीको बाहिरी क्षेत्र मुंगेशपुरमा बुधवार दिउँसो साढे दुई बजे ५२ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको र यो अहिलेसम्मकै उच्च तापक्रम भएको भारतीय मौसम विभागले जनाएको छ । वर्ष २००२ मा भारतमा सबैभन्दा बढी ४९ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

राजस्थानको मरुभूमि क्षेत्रबाट आएको तातो हावाका कारण दिल्लीको बाहिरी क्षेत्रमा गर्मी चरम अवस्थामा पुगेको मौसम विभागका क्षेत्रीय निर्देशक कुलदीप श्रीवास्तवले बताएका छन् । साँझपख भने दिल्लीका केही क्षेत्रमा हल्का पानी परेकाले वातावरणको आर्द्रता थप बढाउने जनाइएको छ ।

मौसम विभागले दिल्लीका बासिन्दाहरूलाई अत्यधिक गर्मीका कारण जुनसुकै उमेर समूहका मानिसलाई पनि ‘हिटस्ट्रोक’ लगायत अन्य गर्मीजन्य समस्या हुन सक्ने भन्दै रेड अलर्ट जारी गरेको छ । गर्मी चरम भएसँगै राजधानी दिल्लीमा विद्युतको माग पनि अहिलेसम्मकै उच्च अर्थात् ८ हजार ३ सय २ मेगावाट पुगेको जनाइएको छ ।

भारतका अन्य क्षेत्रमा पनि चरम गर्मीको अनुभव गरिएको छ । मरुभुमीय राज्य राजस्थानको फलोदीमा ५१ डिग्री सेल्सियस र हरियाणाको सिर्सामा ५० दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । हिटस्ट्रोक ‘उष्माघात’का कारण राजस्थानमा अहिलेसम्म कम्तीमा ६ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ ।

चरम गर्मीका कारण आज बिहारको शेखपुराको एउटा विद्यालयमा कम्तीमा ६ जना र बेगुसरायको एउटा विद्यालयमा एक दर्जनभन्दा बढी विद्यार्थी बेहोस भएका छन् । बंगालको खाडीबाट आउने नरम हावाले बिहीबार उत्तरप्रदेशको तापक्रममा भने क्रमिक गिरावट आउने मौसम विभागले प्रक्षेपण गरेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस