२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अस्ट्रेलियाको प्रदेशसभा निर्वाचनमा पहिलो पटक नेपाली मूलकी महिलाको उम्मेदवारी

काठमाडौं । अस्ट्रेलियाको क्यानबेरा राज्यमा हुन गइरहेको प्रान्तीय निर्वाचनमा पहिलो पटक नेपाली मूलकी महिलाले प्रतिस्पर्धा गर्ने भएकी छन् । नेपाली चेली स्नेहालता केसीले प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दिएकी हुन् । अगामी अक्टोबर १९ मा हुने निर्वाचनमा केसीले अस्ट्रेलिया क्यापिटल टेरोटोरीमा ‘इन्डिपेन्डेन्स फोर क्यानबेरा’ नामको नयाँ राजनीतिक दलबाट प्रतिस्पर्धा गर्न लागेकी हुन् । उक्त राज्यमा २३ वर्ष देखि लेबर पार्टीले सरकारको नेतृत्व गर्दै आएको छ ।

अहिले नयाँ वैकल्पिक पार्टीका रूपमा आएको ‘इन्डिपेन्डेन्स फोर क्यानबेरा’ले केसीलाई आफ्नो उम्मेदवार बनाउनु अघि अडिसन लिएको थियो । पाँच जना निर्णायकले उम्मेदवारी दिने अरू तीन जना प्रतिस्पर्धीको अडिसन लिएको हो । उनीहरूलाई एक सभामा ७ मिनेट लामो भाषण गर्न लगाइएको थियो । सबै भन्दा उत्कृष्ट भाषण पछि स्नेहालता सबैको रोजाइमा परिन् ।

भाषण पछि भोटिङ गराइएको थियो भने तीनै जना प्रतिस्पर्धीसँग अन्तर्वार्ता गरिएको थियो । जसमा स्थानीय सबैबाट ३३ वर्षीया केसी छनौट भएकी हुन् । करिब ४ लाख जनसङ्ख्या रहेको क्यानबेराको प्रदेश सभाको २५ सिटमा निर्वाचन हुँदै छ । जसमा १३ सिट ल्याउनेले सरकार बनाउन सक्ने छ ।

नेपालको नेपालगन्जमा जन्मिएकी केसीको वृद्धा वृद्धा र समाजसेवामा बढी रुचि छ । सन् २०११ म अस्ट्रेलिया पुगेकी उनी पेसाले नर्स हुन् । ‘म नेपालीको सम्मान, क्यानबेराका स्थानीय बासिन्दा र नेपालीको सेवाका लागि निर्वाचनको मैदान होमिएकी हुँ,’ उनले भनिन् । करिब १४ हजार नेपालीको बसोबास रहेको स्थानमा आफू निर्वाचित भए नेपाली र त्यहाँका स्थानीयको सेवामा होमिने उनको छ । नेपालमा हुँदा सञ्चार क्षेत्रमा समेत आबद्ध रहिसकेकी स्नेहालता अस्ट्रेलियाको प्रान्तीय निर्वाचन लड्ने पहिलो नेपाली मूलकी महिला हुन् । जितका लागि नेपालीहरूले पनि साथ दिनु पर्ने उनको अपेक्षा छ । उक्त चुनावमा स्वतन्त्रसँगै इन्डिपेन्डेन्स फोर क्यानबेरा, लेबर लिबरल, ग्रिन्स लगायतका पार्टीबाट उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

उनीहरू सबैसँग प्रतिस्पर्धा गरेर पहिलो नेपाली मूलकी सांसद बन्न सके अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्धमा पनि ठूलो सहयोग हुने उनको विश्वास छ । क्यानबेरामा रहेका नेपालीहरूका लागि सहयोग गर्न र अस्ट्रेलिया नेपालको सम्बन्ध थप बलियो बनाउन पनि आफूले भूमिका खेल्ने स्नेहालताले प्रतिबद्धता जनाइन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस