२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टी-२० विश्वकपमा अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

काठमाडौं । सोमवार क्यानडासँग ‘वार्म अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल आज राति सवा नौ बजे (स्थानीय समय बिहान १०:३० बजे) संयुक्त राज्य अमेरिकास्थित प्रेरी भ्यू मैदानमा हुनेछ।

यो अमेरिकाको डालासस्थित त्यही मैदान हो, जहाँ नेपालले आगामी जुन महिनाको ४ तारिखमा नेदरल्यान्ड्सविरुद्ध विश्वकपको पहिलो खेल खेल्नेछ। विश्वकपमा सहभागी २० राष्ट्रलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दुई/दुई वटा ‘वार्म अप’ खेल दिएकोमा नेपालको भागमा क्यानडा र आयोजक अमेरिका परेको छ। अमेरिकासँग भने नेपालले अबको तीन दिनपछि मे ३० तारिखमा खेल्ने तालिका छ।

ह्युस्टनमा त्यहाँको स्थानीय टोली ह्युस्टन हुरिकेन्ससँग दुई म्याच खेलेर राष्ट्रिय क्रिकेट टोली डालास पुगिसकेको छ।

एक सीट खाली
नियमानुसार नेपाल क्रिकेट सङ्घ (क्यान) ले दुई दिनअगाडि मे २५ तारिख (जेठ १२ गते) मा १५ सदस्यीय खेलाडीको अन्तिम सूची दर्ता गर्नुपर्ने थियो। तर लेग स्पिनर सन्दीप लामिछानेको भिसा लाग्ने विश्वासमा क्यानले हाल १४ सदस्यीय टोलीको नाम मात्र बुझाएको बताइएको छ।
अमेरिकाले यस अघि सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि क्यान पदाधिकारीहरू उनलाई भिसा दिलाउन पुनः प्रयासरत छन्।

त्यसका लागि पदाधिकारीहरूले नेपाल सरकारमार्फत् प्रयत्न गरिरहेका छन्। क्यानको खेलाडी छनोट समितिका संयोजक दीपेन्द्र चौधरीले बीबीसीसँग भने, “आईसीसीलाई अनुरोध गरेर हामीले हाल १४ जना खेलाडीको नाम मात्र बुझाएका छौँ। आईसीसीले केही दिनका लागि पर्खिन सहमति दिएको छ।”

अधिकारीहरूका अनुसार केही दिनभित्रै सन्दीपले भिसा पाए उनको नाम टोलीमा समावेश गरिनेछ र टोलीसँगै अमेरिकामा रहेका एकजना खेलाडी वैकल्पिक सूचीमा पर्नेछन्।

वैकल्पिकमा पर्ने खेलाडी भने विश्वकपभरि टीममै रहने बताइएको छ। यदि भिसा नलागेमा हाल टीममा रहेको १५ सदस्यीय टोलीले नै विश्वकप खेल्नेछ। यो टोलीका सदस्यहरू विश्वकपमा छनोट भएदेखि नै लगातार सँगै अभ्यासमा छन्।

वैकल्पिक खेलाडी को?
हाल अमेरिकामा रहेका १५ मध्ये १४ खेलाडीको मात्र नाम क्यानले बुझायो। तर कसको नाम बुझाएन, त्यो भने उसले सार्वजनिक गरेको छैन।

क्यानको योजनाअनुसार सन्दीपको भिसा लागेमा मात्र अर्का खेलाडीको नाम थाहा हुनेछ। छनोट समितिका संयोजक दीपेन्द्रले भने, “सन्दीपको भिसा लागेमा मात्र वैकल्पिक खेलाडीबारे थाहा दिने हाम्रो योजना हो। पहिले नै वैकल्पिक खेलाडी भनेर कुनै खेलाडीको किन मन दुखाउने?” टीममा लेग स्पिनर सन्दीपको प्रवेश भएमा बलरमध्येबाटै कोही एक खेलाडी वैकल्पिकमा पर्न सक्ने कतिपयको अनुमान छ।

हाल नेपाली टोलीमा स्पिनरहरू ललितनारायण राजवंशी, सागर ढकाल छन् भने तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, कमलसिंह ऐरी, गुलशन झा छन्। त्यस्तै कामचलाउ स्पिनरहरूमा दीपेन्द्र सिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र कुशल भुर्तेल छन्।

कसरी अड्किएको थियो सन्दीपको सहभागिता?
नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथि बलात्कार गरेको भन्दै पीडितले मुद्दा दर्ता गरेकी थिइन्। सुनुवाइ हुँदा काठमाडौं जिल्ला अदालतले उनलाई दोषी ठहर गरेपछि उनी क्रिकेट खेलमा सहभागी बन्न नपाउने भएका थिए। तर पाटन उच्च अदालतले यसै महिनाको सुरुमा सन्दीपलाई सफाइ दिए यता उनलाई टी२० विश्वकपमा खेलाउने प्रयत्न भइरहेको छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस